Friday, October 26, 2007

जंगी निशान हाम्रो

रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो
जिउँदो रगत सरी यो बल्दो यो शान हाम्रो ।



आज नेपाल भित्र नेपालीहरुले चन्द्र सुर्य झण्डा जलाएको पनि देख्नु पर्यो । नेपाली भएर मैले हाम्रो राष्ट्रको शान जलाउनेलाई नेपाली भन्दा पनि अपराध गर्दैछु कि जस्तो महसुस भै रहेछ तिनीहरुले नेपाल आमाकै छातीभित्र हुर्केर कसरी नेपालको राष्ट्रिय झण्डा जलाउन सके होलान ? तस्विर सहित माई संसारमा देखिएका ति देशद्रोहीहरुलाई नेपाल सरकारले के कसरी कार्यवाही गर्ने होला ? जति निन्दा गरे नि कम हुने कार्य गर्ने तिनीहरुलाई राष्ट्रिय झण्डा जलाएको अपराधमा गोली ठोके पनि कम हुन्छ फाँसीमा लट्काए नि कम हुन्छ तर तिनीहरुले कस्तो प्रतिक्रिया जनाउलान भन्ने हेर्नलाई तिनीहरुको आगाडी भारतको झण्डा जलाउनु पर्ने भन्ने उमेश जी को धारणा चाँही गलत हो कि ? भलै भारतको यसकार्यमा हात रहेको होस तर नेपाल भित्रै नेपाली नागरिकले नै त्यो अक्षम्य अपराध गरेका छन र भारतसंग यो कुरालाई नमुछि तिनीहरुलाई सजाय दिनुपर्छ ।

माई संसारमा झंडा जलाएको तस्विर हेर्नासाथ कमेण्टमा लेखेको यो कविता -

चन्द्र सुर्य झन्डा हाम्रो

चन्द्र सुर्य झन्डा हाम्रो
शिर भन्दा माथी
हेर त्यही चन्द्र सुर्य
जल्यो आज साथी ।

मुटु भित्र हेर आज
चन्द्र सुर्य दुख्यो
न्याय मर्यो? कानुन गल्यो ?
सगरमाथा झुक्यो ?

कोही स्वार्थ बोकी आज
सगरमाथा ढाल्छन
शिरै छिनालेझैं कोही
चन्द्र सुर्य बाल्छन ।

चन्द्र सुर्य नेपाल हो
आमा समान ठुली
यस्तो कार्य गर्छौ किन
नेपाल आमा भुली ।

कस्को कस्तो ईशारामा
नाचेका छौ तिमी
यै झण्डाको शानले त
बाँचेका छौ तिमी ।

बञ्चरोले हानी आफ्नो
घुँडा नै छिनाली
पाउने केहि हैनौ चन्द्र
सुर्यलाई बाली ।

जस्ले आज प्रहार गर्यो
चन्द्र सुर्य लाई
चिहान खनौं त्यस्को पनि
आउ दाजुभाई ।

चन्द्र सुर्य जल्छ भने
आगो नि झेलिन्छ
कस्ले रोप्यो विषको रुख
जरै उखेलिन्छ ।

Thursday, October 25, 2007

कविता : नि:शब्द रोदन आमाको

एउटा छोरो
सिन्दुर पहिरिएर शिरमाथी
आमाको आँशु पुछ्न
हाँसी हाँसी छाती खोलेर
युद्ध भुमीमा अगाडी सर्छ
उ बिश्वास गर्छ
आमाको आशिर्वादमाथी
र धमाश छोड्छ दिग्विजयको
अर्को छोरो
विवषताको कात्रो बेह्रेर शिरमाथी
आमाकै आँशु पुछ्न
हाँसी हाँसी बन्दुक बोकेर
रणमैदानमा अगाडी सर्छ
उ पनि बिश्वस्त छ
आमाको आशिर्वादमाथी
र हाँक दिन्छ दिग्विजयको
युद्ध भडकिन्छ
दुबै वीर छोराहरु
आमाको ओठमा मुस्कान रोप्न
आमाको अधरमा खुशी फुलाउन
आफ्नो छातीमा गोली थापेर
युद्धभुमीमै ढलिदिन्छन
एक्ली ति रुग्ण बुढी आमा
नसकेर रुन आँखाहरुले
नि:शब्द रोईरहेकि छन मुटुले
छोराहरु आज पनि
मुख हेर्न आएनन भनेर
ए ! बाँकी बचेका वीर छोराहरु हो
तिम्री आमा अब शब्दमा रुन
कहिल्यै सक्ने छैनन
तर तिमीहरु वीर भएर पनि किन
आमाको नि:शब्द रोदन सुन्न सक्दैनौ ?

(यो कविता मैले २०५८ सालको मातातिर्थ औंशीको दिन लेखेको रहेछु । आज डायरीको पुराना पाता पल्टाउने क्रममा भेटेर यहाँ राखेको हुँ ।)

Wednesday, October 24, 2007

मेरो कविता यात्राको सम्बन्धमा

मेरो कविता यात्रा भनेर नाम दिंदै मैले आफुले लेखेका कविताहरु संकलन गरेर एकै ठाउंमा भेला गर्ने उद्देश्यले आज मसंग अहिले भएजति कविताहरु प्रिंट गरेर भेला गर्ने काम गरें । यसभन्दा पहिले मैले मेरी उ अझै मरेकी छैन भन्ने नाम दिएर यौटा कविता संगालो र खडेरीको खेती भन्ने नाम दिएर अर्को कविता , गीत तथा गजलहरुको संगालो बनाउदै जाने विचार गरेको थिएं । मेरी उ अझै मरेकी छैन भित्र मैले मेरी स्व . पत्नि मञ्जुको सम्झनामा लेखिएका कविताहरु मात्र संग्रहित गर्ने र खडेरीको खेती भित्र मैले जन आन्दोलन २ को बेला लेखेका कविता , गीत तथा गजलहरु एवं पहिले देखि नै लेखेका त्यस्तै क्रान्तिकारी तथा प्रगतिशिल धारका कविता , गीत तथा गजलहरु राख्ने विचार गरेको थिएं । आज आएर मैले विचार परिवर्तन गर्दै मैले लेखेका सबै कविताहरुलाई एकै ठाउँ संकलन गर्ने अठोट गरें। मैले आफ्ना कविताहरुलाई जे नाम दिएर संकलित गरेपनि हाललाई यो संकलन मेरो आफ्नै लागी मात्रै हुने भएकोले पनि मलाई धेरै संकलन बनाउनु उपयुक्त होला जस्तो लागेन । अहिले मेरो यो संकलन भित्र मेरा बिभिन्न खाले ७३ वटा कविता रहेका छन । मैले पहिले लेखेका तर अहिले म संग नभएका कतिपय कविताहरु यो संग्रहभित्र राख्न बांकी नै छ त्यस्तै मैले पछि सम्म लेख्दै जाने कविताहरु पनि मैले यसै संगालो मेरो कविता यात्रा भित्र थप्दै जाने विचार गरेको छु । यस संग्रहभित्र अहिले सम्म संग्रहित भएका मध्ये धेरैजसो कविताहरु नेपाली पोष्ट डटकम , नेपाली कविता डटकम , समुद्रपारी डट कम लगायत अन्य धेरै वेभ पत्रिकामा प्रकाशित भएका छन । फेरीपनि मैले आफ्नो कविताहरुको सम्बन्धमा भन्नुपर्दा मैले आत्मसंतुष्टीको लागी लेखिएका हुनाले मेरा कविताहरु कविता जस्तै पनि नलाग्लान ।

मलाई मेरा कविताहरुमा भएका कमिकमजोरी देखाएर भविश्यमा अझै सुन्दर कविता लेख्ने प्रेरणा दिनुहुनेछ भन्ने आशा राख्दछु ।


- दीपक जडित
(संगालोमा अगाडी राख्नको लागी लेखिएको)

Sunday, October 14, 2007

यस्तो गल्ती हुन्छ कसरी ?

मैले गत १२ अक्टोबरका दिन नेपाली कविता डट कमको लागी भनेर 'दशैं नेता ज्यू र हामी' शिर्षकमा यौटा कविता लेखेको थिएं र नेपाली कविता डट कम अनि नेपाली पोष्ट डट कममा पठाएको थिएं । नेपाली पोष्टमा भने लगत्तै भोली पल्ट प्रकाशित भएछ भने नेपाली कवितामा सायद क्यूमा होला । नेपाली कवितामा १३ अक्टोबरका दिन मैले झण्डै एक वर्ष अगाडी लेखेको 'आजका हामी युवाहरु ' भन्ने कविता प्रकाशित भएको रहेछ । झन्डै एक वर्ष अगाडी पठाएको कविता प्रकाशित भएको देख्दा खुशी लाग्यो तर उक्त कविताको अन्त्यमा दुई हरफ हराएर अपुरो प्रकाशित भएको पाउंदा भने नमज्जा लाग्यो । एकताका तन्नेरी डट कममा पठाएको गजल पनि त्यसरी नै अधुरो मात्र प्रकाशित भएको थियो भने एकाध पटक नेपाली पोष्ट डट कममा पनि त्यसरी नै अपुरो र उल्टोपाल्टो भएर प्रकाशित भएको छ । मैले हरेक पटक आफ्नो रचनाहरु संप्रेषण गर्दा कतै केहि छुट्ला कि भनेर अति नै ध्यान पुर्वक हेरेर गर्ने गर्छु तर प्रकाशित हुंदा भने मेरै मात्र धेरै पटक किन त्यसरी अपुरो भएर प्रकाशित हुने होला ? कतै मैले ईमेलमा पठाउंदा बाटैमा मेरो रचनाहरुको अंश हराउने हो कि ? त्यसरी मुख्य भागहरु गुम भएर अपुरो रचना प्रकाशित भएको देख्दा साह्रै खल्लो लाग्दो रहेछ अनि रचनाले लगाउनु पर्ने अर्थ पनि अनर्थ हुन जान्छ । हैरान छु म आँखिर त्यस्तो गल्ती हुन्छ कसरी ??

Saturday, October 13, 2007

दशैंको कुरा एक आलेख सहित

वडादशैं को मंगलमय शुभकामना ।



दशैं आयो
खाउंला पिउंला
कहाँ पाउंला ?
चोरी ल्याउंला
धत ! पापी म त छुट्टै बसौंला ।


बच्चै देखि हातका औंला भंचाई भंचाई माथीको कविता हो कि कुन्नि के बिता हो रटाएर हामीलाई दशैं गलत अर्थले बुझाईयो । अझै पनि दशैंको महिमा के हो बुझाउन छाडेर बच्चाहरुलाई यस्तै अनर्गल सिकाउने गरिन्छ । माथीको कवितामा दशैं आउनु भनेको खाने पिउने समय हो भनेर बुझाईएको छ अझ त्यसमाथी पाईएन भने चोरेर नै भए पनि दशैंमा त खानै पर्छ भन्ने मान्यता दर्शाईएको छ । त्यसो त चोर्ने कुरा आउंदा धत! पापी भनेर चोर्नु गलत हो सम्म त भनिएको छ तर दशैंमा खानु पर्छ भन्ने कुरालाई जोड दिईएको हुंदा हाम्रो समाजमा आफुसंग नभए दशैंमा ऋण गरेरै भए पनि खाने परम्परा बसेको छ तर दशैं को महत्व के हो ? दशैं किन मनाईन्छ ? दशैंमा पूजा किन गरिन्छ ? भन्ने जस्ता कुराहरु हामीलाई सिकाईएन । मलाई अझै सम्म पनि दशैं भनेको खसी मार हानेर टन्न मासु खाने मौका हो जस्तो लाग्छ । दुर्गाको पूजा गर्ने ब्याक्तीले सफा बस्त्र लगाउनु पर्ने मान्यता दशैंमा गच्छेले भ्याओस नभ्याओस सबैले नयाँ लुगा लगाउनु पर्ने मान्यतामा बदलिएको छ । अझै दशैंको बेलामा जुवा तास खेल्ने र जाँड रक्सी खाने आधुनिक प्रचलनको त कुरै के गर्नु र ?

दशैंको महत्व के हो रहेछ त भनेर बुझ्ने क्रममा यसपाली मैले फेला पारेका केहि तथ्यहरु को आधारमा यौटा सानो
आलेख तयार पारेर यहाँ राख्दैछु ।

नवरात्रि , नवदुर्गा र नवग्रहको सम्बन्ध ।

नवरात्रि अर्थात नवदुर्गा भवानीको पूजा शरद याममा असौज महिनाको शुक्लपक्षको प्रतिपदा देखि शुरु हुने गर्छ । हामीहरु यस्लाई नौरथा पनि भन्ने गर्छौं । यस समयमा ब्रम्हण्डका सबै ग्रहहरु सक्रिय हुने गर्छन र ग्रहहरुको दुश्प्रभाव प्राणीहरुमा नपरोस भनेर दुर्गाको शक्तीलाई जगाउन नवदुर्गाको उपासना गर्ने गरिएको हो । भनिन्छ शक्ती विना शिव पनि शब बराबर हुन्छ त्यसैले नवरात्रीमा दुर्गाको शक्तीको उपासना गरेर ग्रहहरुको शक्तीलाई नियन्त्रणमा राखिन्छ र ग्रहहरुको दुश्प्रभावबाट प्राणीहरुको रक्षा गरिन्छ । दुर्गाको शक्तीको नौ रुपहरु क्रमश: शैलपुत्री , ब्रम्हचारिणी , चन्द्रघंटा , कुष्माण्डा , स्कंदमाता , कात्यायानी , कालरात्री , महागौरी र सिद्धिदात्री हुन । नवरात्रिमा दुर्गाको नौ शक्तीलाई जगाउनको लागी नवार्ण मंत्रको जाप गर्ने गरिन्छ ।

नवार्ण भनेको नव वर्ण हो , नव वर्ण अर्थात नौ अक्षर को उक्त मंत्र ऐं ह्रीं क्लीं चामुंडायै विच्चै हो । नौ अक्षरको यस मंत्रको एक एक अक्षरको सम्बन्ध दुर्गाको एक एक शक्ती संग साथै नौ वटै ग्रहहरु संग हुने गर्छ । नौ अक्षरी मंत्रको पहिलो वर्ण (अक्षर) ऐँ को सम्बन्ध दुर्गाको पहिलो शक्ती शैलपुत्रीसंग रहेको हुन्छ भने उक्त अक्षरको जापले सुर्य ग्रहलाई नियन्त्रण गर्दछ । नवरात्री (नौरथा)को पहिलो रातमा शैलपुत्रीको उपासना गरिन्छ । नवरात्रिको दोश्रो रातमा दुर्गाको दोश्रो शक्ती ब्रम्हाचारिणीको उपासना गरिन्छ भने नवार्ण मंत्रको दोश्रो वर्ण(अक्षर)ह्रीँ को सम्बन्ध ब्रम्हचारिणीसंग रहेको हुन्छ । यसले चन्द्र ग्रहलाई नियन्त्रण गर्दछ । त्यस्तै नवार्ण मंत्रको तेश्रो वर्ण क्लीँ को सम्बन्ध दुर्गाको तेश्रो शक्ती चन्द्रघंटासंग रहेको हुन्छ भने यसले मंगल ग्रहलाई नियन्त्रण गर्दछ । नवरात्रिको तेश्रो रातमा चन्द्रघंटाको उपासना गरिन्छ । त्यस्तैगरी नवार्ण मंत्रको चौथो अक्षर चा को सम्बन्ध दुर्गाको चौथो शक्ती कुष्माण्डासंग हुन्छ भने यसले बुध ग्रहलाई नियन्त्रण गर्ने गर्छ । नवरात्रिको चौथोरातमा कुष्माण्डाको उपासना गरिन्छ । पाँचौं अक्षर मुं ले ब्रिहस्पती ग्रहलाई नियन्त्रण गर्छ भने यसको सम्बन्ध दुर्गाको पाँचौं शक्ती स्कंदमातासंग रहेको हुन्छ जस्को उपासना नवरात्रिको पाँचौंरातमा गरिन्छ । नवरात्रिको छैठौंरातमा उपासना गरिने दुर्गाको शक्ती कात्यायानीको सम्बन्ध नवार्ण मंत्रको छैठौं अक्षर डा संग रहेको हुन्छ जस्ले शुक्र ग्रहलाई नियन्त्रण गर्ने गर्छ । त्यस्तै नवार्ण मंत्रको सातौं वर्ण यै को सम्बन्ध दुर्गाको सातौं शक्ती कालरात्रीसंग रहेको हुन्छ भने नवरात्रिको सातौं रातमा कालरात्रीको उपासना गरेर शनि ग्रहलाई नियन्त्रणमा राखिन्छ ।
नवार्ण मंत्रको आठौं अक्षर वि को सम्बन्ध दुर्गाको आठौं शक्ती महागौरीसंग रहेको हुन्छ भने नवरात्रिको आठौंरातमा महागौरीको उपासना गरेर राहु ग्रहलाई नियन्त्रण गरिन्छ । नवार्ण मंत्रको अन्तिम तथा नवौं वर्ण च्चै को सम्बन्ध दुर्गाको नवौं शक्ती शिद्धिदात्रीसंग रहेको हुन्छ भने नवरात्रिको नवौंरातमा शिद्धिदात्रीको उपासना गरेर केतु ग्रहलाई नियन्त्रण गरिन्छ ।

ब्रम्हा , विष्णु र महेश्वरलाई नवार्ण मंत्रका तिन देवताहरु मानिन्छ भने यसका तिन देविहरु क्रमश महाकाली , महालक्ष्मी र महासरस्वतीलाई मानिन्छ ।

( यो छोटो आलेख मैले वेवदुनिया डट कममा भएका भारतका केहि विद्वानहरुको लेख पढेर त्यसैको आधारमा तयार पारेको हुँ - दीपक जडित )

Friday, October 12, 2007

कविता : दशैं , नेताज्यू र हामी

ओ नेता ज्यू ,
एक फेर एता सुन
हामी जनता हौं
त्यही गरिव जनता
जस्को निंती तिमी युद्ध लड्दैछौ
हामी र हामी जस्तैको उत्थान गर्न
तिमीले लडेको युद्धले
हेर आज हामी विस्थापित भएका छौं
आफ्नै मुलुक भित्र
घरबार विहिन भई
आन्तरिक शरणार्थी बनेका छौं
तिमीले टेक्यौ हाम्रो छातीमा
र हाम्रो घरबास खरानी बनाई
आफु भब्य महलमा पुग्यौ
के देख्छौ तिमी आज हामीलाई ?
हेर त आज हामी
कतै बाँसको झाँगमुनी
पाल टाँगेर बसेका छौं
कतै स्कुलको छानोमुनी
छाक मागेर बसेका छौं
सँघारमा दशैं आएको छ
बडा दशैंको शुभ अवसरमा
फेरी तिमी हाम्रै नाममा
विज्ञप्ति निकाल्नेछौ
र सर्व साधारणको सुबिधाको लागी
बन्द फिर्ताको नाटक गर्नेछौ
युद्धविरामको छल गर्नेछौ
ओ नेता ज्यू ,
एक फेर हामीलाई भन
तिम्रो सर्व साधारण को को हुन ?
कस्को लागी तिमी युद्ध शुरु गर्छौ ?
कस्को लागी तिमी युद्ध विराम गर्छौ ?
तिम्रो एक बोलीले यातयात बन्द हुन्छ
तिम्रो एक बोलीले ब्यापार बन्द हुन्छ
सारा देश ठप्प हुने तिम्रो एक बोलीले
हुँदा हुँदा लौ हेर आज हाम्रो गाँस बन्द छ
ओ नेता ज्यू ,
सबकुरा रोक्न सक्ने सामर्थ्य छ तिम्रो
हाम्रै खातिर चलिरहेको
शान्ती वार्ता रोक्न सक्छौ तिमी
हाम्रै खातिर हुनेभनेको
संविधान सभा रोक्न सक्छौ तिमी
ओ नेता ज्यू ,
साँच्चै रोक्न सक्छौ भने
संघारमा आएको यो दशैं रोकिदेउ
बर्षौं देखि हामीले चाहेको
संबिधान सभा आउन नसक्ने देशमा
बर्षै पिच्छे यो दशैं किन आउंछ ?
आफन्तहरु सब गुमाएर
थातबास सब लुटाएर
देशभित्रै शरणार्थी बनेको बेला
हामी संग दशैं मनाउने गच्छे छैन
संविधान सभा रोक्ने ओ नेता ज्यू ,
लौ यसपाली यो दशैं रोकिदेउ ।

आफ्नै जिन्दगीको गज्याङमज्याङमा हराईरहंदा धेरै दिन सम्म मैले न त आफ्नो ब्लगमा केहि लेखें न त एउटा टुक्रा केहि रचना गरें । अन्यौल विच कुहिरोको काग भई हराईरहेको बखतमा नेपाली कविता डट कम बाट विक्रम दाईको ईमेल आयो । ईमेलमा सबैलाई झैं मलाई पनि दशैं कविता लेख्न अनुरोध थियो । दशैं हाम्रो महान पर्व , हामी सबैको खुशीको समय , वातावरणले नै पनि हाम्रो मन हर्षित बनाउने यो समयको लागी कस्तो कविता लेख्ने ? अन्यौल माथी अर्को अन्यौल थपियो । लेखनाथ पौड्यालले झैं रमणिय वातावरणको बयान गर्दै "हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा भवानीको भयो पूजा चल्यो....." जस्तै प्रकारको लेख्न सकिनं सायद त्यसरी कविता लेख्ने मेरो क्षमता नभएको पनि हुन सक्छ । मैले भने देशमा बिद्यमान अराजकता र अन्यौलको स्थितीलाई अनि हालसालै घटित कपिलवस्तु काण्डको सेरोफेरोलाई समेट्दै र जनतालाई संविधान सभाको लुकाछिपी खेलाउने धुन्धुकारी नेताहरु प्रति असंतुष्टीमा दशैं कविता लेखें । खै , विक्रम दाईले मेरो यो कवितालाई नेपाली कवितामा स्थान दिनुहुन्छ कि दिनुहुन्न त्यसैले तपाईंको लागी आफ्नै ब्लगमा पस्कंदैछु साथै यहिंनेर मेरा सम्पुर्ण बन्धुबान्धवहरुमा बडा दशैंको शुभकामना पनि ब्यक्त गर्दछु ।

Monday, August 27, 2007

गीत : आफ्नो आफ्नो बुझाई

आफ्नो आफ्नो बुझाई हो आफ्नो आफ्नो हेराई
मान्छे किन आफैंलाई दुखी ठान्छन धेरै ।

कुमालेको चक्र जस्तै जीन्दगानी हाम्रो
पालै संग भोग्नु पर्छ राम्रो र नराम्रो
कोमल त्यो फूल संगै काँढा पनि हुन सक्छ
नजिकैको मान्छे कैले टाढा पनि हुन सक्छ ।

आफ्नै खुशी हाँस्छ मान्छे आफ्नै दु:ख रुन्छ
अरु हाँस्दा ईर्श्या गर्छ रुँदा कान थुन्छ
आज झरी परेको छ भोली घाम लाग्न सक्छ
आज वैलिएको माया पनि भोली जाग्न सक्छ ।

Tuesday, August 07, 2007

गीत : मिठो बोली

मिठो बोली बोलेर मायाले फँसायो
आउंछु चाँडै भनेर पर्खाई बसायो
त्यै मायाले रुवायो त्यै मायाले हँसायो
उचालेर माथी माथी भुईंमा खसायो ।

आँखाबाट आँशु झार्दै धुरुधुरु रुन्थ्यो
मरिजाने कसम खाँदै आगो पानी छुन्थ्यो
धेरै माया गर्छु भन्थ्यो
तिम्रै लागी मर्छु भन्थ्यो
त्यै मायाले रुवायो त्यै मायाले हँसायो
उचालेर माथी माथी भुईंमा खसायो ।

यो आँखामा आँशु आए पुछिदिन्छु भन्थ्यो
दुनियांमा भएजति खुशी दिन्छु भन्थ्यो
पर्खि बस्नु आउंछु भन्थ्यो
सिंदुर पोते ल्याउंछु भन्थ्यो
त्यै मायाले रुवायो त्यै मायाले हँसायो
उचालेर माथी माथी भुईंमा खसायो ।

धन्यवाद ! ....... ,
मैले देख्दै नदेखेकि भेट्दै नभेटेकि ई-साथी , जस्ले मेरो ब्लग हेरेर म संग मित्रता गरि आफ्नो पिंडा सेयर गर्दै त्यसमाथी यौटा गीत लेखिदिन अनुरोध गरिन र मैले उनको लागी यो गीत लेखेको हुँ ।

Thursday, August 02, 2007

गीत : एक्लै म भिजीरहें

रिमझिम झरी परिनै रहयो एक्लै म भिजीरहें
आफैं काँढा भै आफ्नै जीवनमा संधै म बिझीरहें ।

अधरमा रहर रोपेर पनि ओठमा हाँसो फूल्न सकिंन
सयौं खुशीलाई ओझेल पार्ने यौटै पिंडा भुल्न सकिंन
रिमझिम झरी........।

पैंचो लिएर केहि आशाहरु जिउने बहाना खोजीरहें
निमोठेर आफ्नै विश्वास संधै आँशु मात्रै रोजिरहें
रिमझिम झरी.........।