Wednesday, February 13, 2013

कविता : फेब्रुवरी चौध


मेरो लागी तिमीले पकाएको सेलरोटी
तिम्रो लागी मैले पकाएको सेलरोटी
दुबै ढँग नपुगेर
जब ह्रदयको आकार लिन्छन्
म सम्झन्छु स्कूले ति दिनहरु
कागजमा कोरेर पानको पात बनाइरहेको
र कस्को कस्को नाम लेखिरहेको
त्यतिबेला, जति गरेपनि
पानको पात गोलो मात्र हुन्थ्यो ढंग नपुगेर
यतिखेर, जति गरेपनि
सेलरोटी ह्रदयाकार मात्र भएको छ ढंग नपुगेर ।

तिमी पनि सम्झनु आज एकैछिन
ढंग नपुगेका स्कूले ति दिनहरु
कागजमा पानको पात बनाइरहेको
त्यसमाथि कसैको नाम कोरिरहेको
भोग्नलाई त
यथार्थमा हामीसँग छँदैछ
हामीले बनाएको सेलरोटी जस्तै
ढंग नमिलेर पनि
प्यारो यो फेब्रुवरी चौध!
खुशीको यो प्रणय दिवस!
जो फर्केर आइरहन्छ जीवनमा
सेलरोटी बनाउने दिनहरु जस्तै
ल्याउँदैन तर फर्काएर
कागजमा पानको पात कोरिबस्ने दिनहरु
पानको पातमा कसैको नाम लेखिबस्ने दिनहरु ।

अब कि तिम्रो नाम हुन्छ लेख्नलाई
कि मेरो नाम हुन्छ लेख्नलाई
कुनै ठूलो हिसाबको भुक्तानी प्रमाणित गर्दै
हरेक फेब्रुवरी चौधमा ।

No comments:

Post a Comment