Monday, January 04, 2010

गजल : तिम्रै लाग्छ भर प्रिय

पहिले लेखिएका तर ब्लगमा चढाउन नभ्याएका या भनौं पालो कुरेर बसेका गजलहरुको स-सानो चाङबाट यसपटकलाई पनि यौटा गजल ल्याएको छु । गजल ग्रुपमा यस गजललाई बाँड्दा अहिले भएको मतलाको एक(पहिलो)मिसरा(हरफ)मात्र एक शेर हुने हिसाबले प्रस्तुत गरेको थिएँ । त्यसबेला मलाई कुनै शेरहरु स्वायत्त भएनन् भन्ने चिन्ता छँदैथियो । त्यसैले अहिले यस गजललाई दुई तरिकाले प्रस्तुत गर्न सकिने हिसाबले बनाएर दुई तरिकाले नै राखेको पनि छु ।

पहिलेको तरिकाले -

जे मन लाग्छ गर प्रिय ।
मान्दिनं म डर प्रिय ।

तिम्रै छ आश र प्रिय,
तिम्रै लाग्छ भर प्रिय ।

हावा हूरी छेक्ने न्यानो,
खोजीरँ'दा घर प्रिय,

भन्यौ 'आउ सँगै बसौं,
मेरो को पो छ र' प्रिय ।

समाजले सानो भनि,
पार्दा पर-पर प्रिय ।

चाहिएन तिमीलाई,
मेरो गोत्र थर प्रिय ।

जैले देखि तिमीतिर,
आएँ वर-वर प्रिय,

जून जस्तै फूल जस्तै,
फुल्यो यो अधर प्रिय ।

बसाउँला वस्ती यौटा,
सानो नै होस् तर प्रिय ।

नसके'नि बसाउंन,
मायाको सहर प्रिय ।

सम्झनामा चलोस् हाम्रो,
हावा सर-सर प्रिय ।

रोपौं चिनो चौतारीमा,
पिपलु र बर प्रिय ।

छोडी धर्ती जानु नै छ,
हुँदैनौं अजर प्रिय ।

बनोस् यूगौं यूग हाम्रो,
पिरती अमर प्रिय ।
***

अहिलेको तरिकाले -

जे मन लाग्छ गर प्रिय मान्दिनं म डर प्रिय ।
तिम्रै छ आश र प्रिय तिम्रै लाग्छ भर प्रिय ।

हावा हूरी छेक्ने न्यानो खोजीरँ'दा घर प्रिय,
भन्यौ 'आउ सँगै बसौं मेरो को पो छ र' प्रिय ।

समाजले सानो भनि पार्दा पर-पर प्रिय,
चाहिएन तिमीलाई मेरो गोत्र थर प्रिय ।

जैले देखि तिमीतिर आएँ वर-वर प्रिय,
जून जस्तै फूल जस्तै फुल्यो यो अधर प्रिय ।

बसाउँला वस्ती यौटा सानो नै होस् तर प्रिय,
नसके'नि बसाउंन मायाको सहर प्रिय ।

सम्झनामा चलोस् हाम्रो हावा सर-सर प्रिय,
रोपौं चिनो चौतारीमा पिपलु र बर प्रिय ।

छोडी धर्ती जानु नै छ हुँदैनौं अजर प्रिय,
बनोस् यूगौं यूग हाम्रो पिरती अमर प्रिय ।
******

त्यसो त काफिया अक्षरहरु दोहोरिएका गजलहरु प्रसस्तै नभेटिने होइनन् र पनि मैले नदोहोर्याउने गरी लेख्ने कोसिस गरेको हुन्छु प्राय। यसमा भने 'स' र 'श' लेखाईमा अलग तर ध्वनीको हिसाबले एकै हुने दोहोरिएको छ । आफ्नो दर अनुशार औसतमा दरिएको हुनाले जानीजानी छोडेको हुँ यसलाई ।

10 comments:

  1. खै, मेरो दिमाग ले त भ्याएन यस्तो कुरा ! गजल को तौर तरिका सिक्न बाँकि नै छ, म बबुरो ले !

    ReplyDelete
  2. Anonymous2:06 PM

    आहा कति सुन्दर गजल, पालो कुरेर बसेका चाङ्हरुमा यती मीठा गजलहरु छ्न भने सबै एकैपतक थुतेर पढ्ने इच्छा पो जाग्रित भयो हँ यो मनमा।। प्रत्येक शेरलाई स्वतन्त्र स्वरुप (पुर्नता) दिएर दोश्रो तरिकाले अझ न्याएए दिएका हुन सक्छ्न (यो कतिको आवश्यक वा अनिवार्य वा के हो, यो बिषयमा यसै भन्न सक्दिन ) दुवै तरिका असाध्य जोड्दार छन्, सुन्दर छ्न ।

    ReplyDelete
  3. म कहिलेकाहीँ भन्ने गर्छु, 'काफियाको खडेरी लागेको छ'। र काफिया भेटियो भने लेख्न खोजेको भावना सँग पटक्कै मिल्दैन । यसरी धेरै भावनाहरू गजल हुन सकेका छैनन् । यसरी भाव र काफिया मिलाएर बनेको गजल पढ्न बिरलै पाइन्छ । मलाई चाही थोरै ध्वनिका गजल लेख्ने लालसा ले होला पहिलो नै बढी चोटिलो लाग्यो । मैले सायद दोश्रो पहिल्यै कतै पढेको भए, त्यसलाई नै मनमा राख्थे होला । अति सुन्दर !

    ReplyDelete
  4. हुन त गजल एउटै हो तर मलाई भने पढ्ने बेलामा पहिलेको भन्दा अहिलेको राम्रो लाग्यो :)

    सुन्दर गजल ।

    ReplyDelete
  5. पहिलेकोमा प्रयोगको कोशिश बढी देखिन्छ र प्रवाह अल्मलिएको छ, दोश्रोमा भने गेयात्मकता र मिठास धेरै भरिएको छ। गजलको बनौटको बारेमा बोल्न लायक सम्झिन्न म आफूलाई तर एउटा आम पाठकको हिसाबले भने मिठा लागे यी गजलहरु।

    ReplyDelete
  6. सरल र सजिब गजलको लागि धन्यवाद जडितजी। ऐलेको तरिकानै मलाई पनि मनपर्‍यो। बधाईछ

    ReplyDelete
  7. दीपक जी को गजलको मा पारखी नै हु भन्दा हुन्छ । गजल गेयात्मक विधा नै भएको हुनाले
    मलाई पनि (आफ्नो अनुभवमा ) दोश्रो तरिकाले गरेको प्रस्तुति नै राम्रो लाग्यो ।

    ReplyDelete
  8. मीठो गजल । कुरा एउटै तर पढ्नलाई तलकै मजा आउने । गजलको वारेमा धेरै नजाने पनि म यसको पाठक चैँ पक्कै हुँ । मलाई मनपर्यो तपाईँको लेखाई ।

    ReplyDelete
  9. पछिल्लोलाई भोट ! ताजा भन्या ताजा नै हो नि ! पहिलो गजलमा लयात्मक , सुर र भाव पनि उही भए पनि अलि खोच्याएर अडेसिए जस्तै प्रतित भयो, पछिल्लोमा भने ढुक्कको प्रवाह छ ।
    माथिल्लो गजलका सेरहरू स्वतन्त्र भईकन उठान र बैठनमा अलि भावहीन बनेका छन्, तल त्यो समस्या छैन ।

    ReplyDelete
  10. dami chha mitra
    lekiranu hola

    ReplyDelete