Thursday, February 26, 2009

कविता : समयको शुभकामना


अझै अफसोसहरु
गुम्स्याएर छातीभित्र
वस्तीहरु ढाकेको यो कुहिरो
पन्साउन नसकेर भोली पनि
गहिरो सुस्केरासँग
उच्छवास छोड्नु नपरोस्
शुभ दिनको शुभ घडीमा
उभिएका छौ तिमी
यही बिहानीमा सुरु गरोस्
तिम्रा हातहरुले
शुभ चिन्तन सहित
नयाँ युगको क्षितिज उघार्न
यो तयारीको निमित्त
तिम्रै साथमा छ
समयको शुभकामना ।
माई संसार डटकमको शनिबार साहित्य अन्तर्गतको फोटो हेर्नुस् कविता लेख्नुस् भन्ने ब्लगमा गत शनिबार लेखेको कविता

6 comments:

  1. राम्रो शुभकामना रुपि कबिता । धन्यबाद जडित जी ।

    ReplyDelete
  2. Anonymous2:32 PM

    कबिता पनि राम्रो ! नेपाल को झन्डा पनि राम्रो ! दुई पंक्षि पनि राम्रो !

    ReplyDelete
  3. मैले पनि झुलुक्क यो तस्बिर देख्दा आटूँ कि कसो भन्ने लागेको थियो तर केही मेसो पाइनँ र थच्चिएर बसेँ । जडितजीको कलम भने सलल बगेछ । सङ्लो भाव र शुभेच्छा बोकेको कवितालाई कसरी पो खोट लगाउनु ? तर अझै कवितात्मक निखारमा नआएको हो कि झैँ लाग्यो । तपाईँको कवितालाई तपाईँके गजलले प्रतिष्पर्धामा उछिने जस्तो लाग्यो । र पनि फरक विधाको अलग साख, अलग स्वाद त हुन्छ नै ।

    ReplyDelete
  4. गजल र कविता रच्ने तपाईको प्रतिभा 'त्वरित' हुँदा हुदैं पनि सहज र उत्कृष्ट पनि छ।

    म, पढन मन पराउँछु, तर आफै लेख्‍न भने यो बिधा निक्कै गाह्रो लाग्छ । त्यसमा पनि कसैले पहिले नै शिर्षक वा फोटो देखाएर लेख्‍न लगायो भने त मलाई 'पहाड' हुन्छ ।

    अझै उत्कृष्टताको शुभकामना !!

    ReplyDelete
  5. धन्यवाद ! सिकारुजी , लुनाजी , धाईबाजी र दिलीपजी सबैलाई । धाईबाजीले सहि अनुमान गर्नुभएको हो कवितात्मक निखारमा न आएको भनेर म स्विकार्छु । पुछारमा एकाध हरफ थप्दा केहि विसेक हुन्थ्यो कि जस्तो लागेको छ तर के र कसरी भनेर चैं अलि सोच्न भ्याएको छैन । अनि धाईबाजीले पनि कैलेकाँही त माई संसारमा लेख्नुभए हुन्थ्यो नि । दिलीपजी मलाई त रमाईलो लाग्छ हौ यसरी विषय फोटोमाथी कविता लेख्न तर सँधै त कहाँ सक्नु ? भ्याउन नि पर्यो ।

    ReplyDelete
  6. धन्यवाद जडितजी प्रति-टिप्पणीका लागि । माई संसारमा लेख्‍ने भूत सवार भएको त एकाध महिना नै भयो । तर चाँजो मिलिरहेको छैन । कविता भन्दा पनि विशेषत: लेखादि लेख्‍न मन लागेको हो ।
    हेरौँ, यसो पसेपछि अलि तयारी गरेरै पस्नेछु । सुझावलाई मनन गरेको छु ।

    ReplyDelete