Monday, April 28, 2008

मैले बुझेको सत्य

" साहित्य समाजको दर्पण हो " कसैले भने , हो पनि समाजमा देखिने विचित्र चित्रहरु नै शब्दको आकारमा साहित्यको ऐनामा हेर्न पाईन्छ तर यसको अर्थ साहित्यमा जे जति लेखिन्छ शत प्रतिशत सत्य तथ्य नै लेखिएको हुन्छ भनेर सोच्नु चाँही अलि गलत हुन्छ कि ? साहित्यमा वास्तविकता संग कल्पना उत्तिकै घोलिएर आएको हुन्छ । धेरैले धेरै अगाडी नै उल्लेख गरिसकेको कुरालाई मैले यहाँ उठाउंदैछु यसकारण हैन कि मेरो ब्लगमा आउनुहुनेलाई यो कुरा थाहा छैन बल्कि यसकारण कि मेरो ब्लगमा आउने मध्ये कुनै एक पात्रा , जस्को एक एक प्रतिक्रियाले मेरो जिन्दगीमा महत्व राख्छ , ले यस्लाई गलत बुझिदिएको हो कि भन्ने आशंकाले । कुनै बेला लेखाईमा कुनै खास क्षणले पारेको प्रभावहरु मात्र हुन सक्छ भने कुनै बेला कोरा कल्पनालाई मात्र पनि लेखिन सक्छ अत मेरो अनुरोध - मेरो लेखाईबाट नै मेरो सम्पुर्ण मुल्याँकन नहोस ( सतही हुन्छ त्यस्तो मुल्याँकन ) ।

शंकाले लंका हान्छ भन्ने उखान सुन्दा सामान्य लाग्ने भएपनि यो यथार्थ हो । अहिले म भित्रको आशंकाले भने मलाई कुनै लंका भस्म गराउनु छैन / गर्ने पनि छैन केवल दुई मनबिचको गलत बुझाईले निर्माण गरेको खाडल पुर्ने प्रयास मात्र हो । मनहरु बिचको दुरी सम्बन्धमा पनि मेरो भने आफ्नै धारणा छ । म ठान्छु एक मनदेखि अर्को प्रत्येक मन संगको दुरी बराबर हुन्छ । कुनै मनहरु नजिक वा टाढा हुंदैनन । कैलेकाँही हामीले कसैलाई आफ्नो मनको नजिक राखेको छौं भन्ने ठान्छौ भने कसैलाई टाढा राखेको छौं भन्ने ठान्छौं तर वास्तविकतामा त्यो सोचाईहरुको भ्रम मात्र हुन्छ । दुई मनहरु बिचको दुरी त संधै एक देखि प्रत्येक अर्को मनसंग संधै बराबर हुन्छ चाहे त्यो पराई मन होस चाहे त्यो आफन्त मन होस ।

आफन्तको मेरो परिभाषा पनि अलि अनौठो लाग्ला तपाईंलाई - म जहाँ जोसंग हुन्छु तिनीहरुनै मेरा आफन्तहरु हुन्छन । यस प्रसंगमा मलाई यौटा घट्ना याद आउंछ । न्यु मेक्सिकोमा एकजना दिदी हुनुहुन्थ्यो , स्थानिय स्कुलमा शिक्षिका - सरोज दिदी , वहाँसंग म निक्कै घुलमिल भएर बसेको थिएं । त्यसबेलामा म डुराङ्गोमा बस्थें । मैले डुराङ्गो छाड्नेबेलामा सरोज दिदीले मेरो मन नै नमिठो पार्दै भन्नुभयो " भाई जहाँ गएपनि नभुल्नु है , यो बिरानो मुलुकमा आफन्त भएर बसियो । फोन गर्दैगर्नु । मौका पर्यो भने भेट्न आउनु । " जवाफमा वहाँलाई मैले , " दिदी म जहाँ जोसंग हुन्छु तिनीहरुलाई नै आफन्त मान्छु । हिंजो अरु नै मेरा आफन्त थिए आज तपाईंहरु हुनुहुन्छ भोली अरु कोहि होलान । मैले फोन गरिंन भने दुख नमान्नु होला । " भनेको थिएं ; नभन्दै सरोज दिदीसंग पछि कहिल्यै फोनमा कुरा भएको छैन । " टाढाको देवता र नजिकको भूत " यस्ता उखानहरुको पछाडी जीवन जिउंने गहिरो कला लुकेको हुन्छ तथापि हरेकको जीवन जिउंने आ आफ्नै कला हुने कुरा त छँदैछ ।

अरुलाई जस्तै मलाई पनि म एक्लै छु जस्तो लाग्छ । स्वभाविक पनि हो एक्लो मान्छेलाई एक्लो छु जस्तो लाग्नु तर एक्लो महसुस हुनुको पनि यौटा सिमा अवश्य हुन्छ । म आफुलाई यति सम्म मात्र एक्लो ठान्छु कि म संग आफ्नो परिवार छैन । भौगलिक दुरीमा म टाढा छु परिवार संग तर भावनात्मक दुरीमा परिवार चिनेजानेका साथी संगाती साथै मेरो जीवनको विषेश महत्व राख्ने पात्रा , जस्को लागी म अहिले यो पोष्ट लेख्दैछु , सबै उत्तिकै नजिक छन । कैलेकाँही हामीलाई परिस्थितिहरुले यसरी जकडाएर राख्छ कि हामी आफन्त जनसंग भौगलिक रुपमा यौटा लामो दुरी बनाएर बाँच्न विवस हुन्छौं तर त्यो विवसता भित्र हामी अनेकौं मिठा आशाहरु र सुखद सपनाहरु पालेर बाँच्ने गर्छौं । यहि नै त हो जीवन बाँच्ने मुल मंत्र तर जब हामीभित्र त्यो मिठो आशा बाँकी रहंदैन , त्यो सुखद सपना हुंदैन तब हामी साँच्चै एक्लिन्छौं । त्यस्तो परिस्थितीमा हामी अल्मलिन्छौं यौटा यस्तो भुमरीमा फस्छौं कि हामी आफुसंग आफुलाई नै पाउंदैनौ । परिस्थितीसंग जुध्नु भनेकै त्यस्तै बेलामा हो । हामीसंग हौसला हुनुपर्छ । बर्तमानलाई आत्मसात गर्न सक्नुपर्छ । आशाहरु हाँस्न सक्नु पर्छ तब न हामी जीन्दगीलाई सरल जिउंन सक्छौं ।

यस ब्लगमा मैले यसभन्दा अगाडी २२२ वटा पोष्टहरु राखिसकेको छु , यो २२३ औं हुंदैछ । हरेकमा मैले जीवनको भोगाईहरु नै लेखें होला र हरेकमा मैले कल्पनाको कलेवर लगाउने प्रत्यन गरेंहोला । मेरो लेखाईहरुलाई बुझ्दै नबुझ्नु , सतही रुपमा बुझ्नु अथवा गहिरिएर बुझ्नु पढ्नेहरुमा भरपर्ने कुरा हुन्छ । अझै मैले जीवनमा धेरै नयाँ कुरा सिक्नु छ , देख्नु छ । जीवनलाई अझै धेरै बुझ्नु छ । मैले भोगीसके जति जीवनमा पनि अनेकौं आरोह अवरोहहरु आए । कुनैदिन म आफुलाई धिक्कार सम्झन्थें । जीवनको बाह्र पन्ध्र वर्ष स्कुल गएर पनि मैले केहि सिक्न सकेनछु जस्लाई उपयोग गरेर म जिन्दगी सरल जिउंन सकुँ भन्ने पनि लाग्थ्यो तर जब बुझें समयको पाठशालामा जिन्दगी पढ्न सकिन्छ र त्यसबाट सिकेको ज्ञानले जिन्दगी सरल जिउंन सकिन्छ भनेर त्यहाँ देखि मलाई जिन्दगीसंग गुनासो कहिल्यै भएन । मैले समयकै पाठशालामा भेटेकि पात्राले सिकाएकि थिईन जिन्दगीमा आशा बाँच्ने कसरी भनेर । ति नै पात्राबाट सिकेको पाठ कण्ठस्थ भए झैं म जिन्दगी बाँचेको छु तर भौगलिक दुरीमा म देखि टाढा कतै एक्लै भएकि सोही पात्रा आज आशाहरु हराएर एक्लो छु भन्दा दुख लागेको छ । मैले म साथमा छु भन्न मात्र सक्छु वर्तमानमा उनलाई मेरो साथको अनुभुती गराउन सक्दिंन । म उनलाई अझै आशाहरु हाँस्ने अनुरोध गर्न सक्छु उनको अधरमा म आशा फुल्न सक्दिंन ।

जिन्दगी बाँच्नु त छँदैछ अझ वर्तमानका हाँकहरुलाई सामना गर्दै बाँच्नसके हाम्रो पाईतालाले भविश्यमा शिखर टेक्ने नै छ । ..........लेख्दा लेख्दै मेरो जिन्दगीकी उक्त पात्राले म आफैंसंग रिसाएकि हुँ भनिसकिन मैले यहाँ लेख्न खोजेको मुलकुरा पनि त्यसैमा छ । म संग मेरि पात्रा रिसाईन भनेर उनलाई मनाउन म यहाँ उपदेश लेखिरहेको छैन खाली मैले बुझेको सत्य मात्र लेख्न खोजेको हुँ - " जवसम्म तिमी आफैंसंग रिसाएर बस्छौ तवसम्म अरुसंग खुशी हुन सक्दैनौ । "

Sunday, April 27, 2008

कविता : फूलको रंगलाई अब हेला नगर

फूलको रंगलाई अब हेला नगर
फूलको रंगमा जीवन फूल्छ
हेर फक्रेको हरेक फूलमा
त्याहाँ जगतको सत्य खुल्छ
रातो गुलाब संधै रगतको पर्याय हैन
यो प्रेमको पनि प्रतिक हो
विहानीको लाली रक्तिम हुन्छ
त्यसैले रातको कालो धुन्छ
हेर विहानीले रक्तिम लाली नछरी
उज्यालो दिन आउंछ कसरी ?
चमेली , वेली , सयपत्री
गोदावरी , मखमली यहीं
फूल्नुपर्छ संगै संगै सबै
लालुपाते , गुलाब र जाहीजुही
रातो निलो सेतो पंहेलो
सबै रंगहरुले नेपाल सजाउन
फक्रिएर फूलझैं नेपाली मनले
संधै शान्तीको धुन बजाउन
फूलको रंगलाई अब हेला नगर
फूलले कठोर मनलाई पनि छुन्छ
गुलाब संधै रातो मात्र हुंदैन
हेर त गुलाब सेतो पनि हुन्छ ।

Thursday, April 24, 2008

कविता : जिन्दगी बाँच्न किन सकिंदैन ?

सत्य - सत्य
मैले कहिल्यै घोत्लिएर
जिन्दगीलाई केलाईंन
जिन्दगी दुख्दा रोईदिएं एकैछिन
जिन्दगी फुल्दा हाँसीदिएं एकैछिन
प्रत्येक पल्ट मैले देख्दा
जिन्दगी आफैं सरल रेखामा थियो
मेरो पनि तिम्रो पनि
आफैं निर्माण गरेर बिन्दुहरु
पटक पटक रोकेर पाईलाहरु
तिमीले हात उठाएको देखें
भन्यौ अब जिन्दगी बाँच्न सकिन्न भो
घुर्की पनि जिन्दगीसंग लगाईन्छ र ?
त्यती बिघ्न मात्राहरु छाडेर
वाक्य नटुङ्ग्याई पुर्ण विराम कोरेर
तिमीले घुँडा टेकेको देखें
भन्यौ अब संतोष हाँस्न सकिन्न भो
हार आफ्नै जिन्दगीसंग खाईन्छ र ?
एकैछिन घोत्लिएर
तिमीले चिनाएको सगरमाथा
तिम्रै छातीमा खोजीहेरें
अहँ छैन
तिम्रो छातीभित्र सगरमाथा कतै छैन
कन्काईले काटेर हरिया खेतहरु
रतुवाले पुरेर मलिला फाँटहरु
कहिले देखि उजाड बगर पाल्यौ छातीभित्र ?
तिमीले चिनाएको सगरमाथा बोकेर छातीभित्र
म अझै पनि कञ्चनजंघाहरु
आरोहण गर्दैछु जिन्दगीमा
जिन्दगी कुनै शिशीको बिर्को भैदिए
अरुले नै लेखिदिने थिए
समस्याहरु खोल्न दाँया घुमाउनुहोस
बन्द पत्र पनि त हैन जिन्दगी
जस्लाई पढ्न लेखिएको होस
यहाँबाट च्यात्नुहोस
यस्तै सरल सत्यहरु
खै त बुझेको जिन्दगीमा ?
तिम्रो छातीमा सगरमाथा फेरी उठ्नुपर्छ
त्यही सगरमाथा छामेर छातीभित्र
सल्बलाउनु पर्छ तिमी
चल्मलाउनु पर्छ तिमी
जिन्दगी बाँच्न किन सकिंदैन ?

Sunday, April 13, 2008

नयाँ वर्षको शुभकामना : तिन कविता सहित

नयाँ वर्ष २०६५ को शुभ उपलक्ष्यमा " मेरो साहित्य संसार र विविध " मेरो ब्लगमा आउनुहुने सम्पुर्ण मित्रजनमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । यहि नयाँ वर्षको शुभ साईतबाट नेपाल यौटा अँध्यारो युग चिरेर नयाँ सुनौलो युगमा प्रेवेश गरेकोमा नेपाल , नेपालीहरु र ति सपुतहरु , जस्ले देशलाई नयाँ युगमा प्रेवेश गराए , लाई पनि नयाँ वर्षको मंगलमय शुभकामना ब्यक्त गर्दछु । आशा गरौं नयाँ नेपाल दिगो शान्तीको दिप प्रज्वल्लित गर्दै सामाजिक सद्भावका साथ समुन्नती तर्फ लम्कने छ ।
यसपटक म नयाँ वर्षको ३ वटा कविताहरु राख्दैछु । पहिलो यसैपाली भर्खरै लेखेको र बाँकी दुईवटा केहि वर्ष अगाडी लेखेका मेरा कविताहरुले तिन अलग समयमा मैले नयाँ वर्षलाई कसरी पाएँ भन्ने जनाउंछ ।
१
नयाँ वर्ष
झुल्को नयाँ घामको लिई आयो नयाँ वर्ष
जुर्मुरायो जग यो सारा छायो प्रचण्ड हर्ष ।

बनाई हिमाल तराई नयाँ पहाड खोँच नयाँ
आयो नयाँ वर्ष लिई विचार , सोच नयाँ ।

फटाई तुँवालो , बादल कालो उज्यालो घेरेर आयो
आयो नयाँ वर्ष देशको अनुहार फेरेर आयो ।

फुलाएर अधर अधर अनमोल त्यो हर्ष
उल्टाएर युग अहो ! आयो लौ नयाँ वर्ष ।

हेर नयाँ वर्षको उज्यालो अझै बढ्दै आयो
साँच्चै नयाँ वर्ष शान्तीको मंत्र पढ्दै आयो ।
२०६५ अमेरिकाबाट
२
नयाँ वर्ष
नयाँ वर्ष !
प्रत्येक साल यसै गरी आउने गर्छ
निर्धा झुपडीको शिरमाथी
खन्याएर आतंकको मुशलधारे वर्षा
भिषण आँधी तुफानले पेलेर
संधै भन्दा धेरै आतंक ल्याउंछ ।

नयाँ वर्ष !
प्रत्येक साल यसै गरी आउने गर्छ
सरल ह्र्दयको कान्ला माथी
निमोठेर पलाउंदै रहेको नव पालुवा
बेजोड सुख्खा खडेरीले घेरेर
संधै भन्दा धेरै त्रास ल्याउंछ ।

नयाँ वर्ष !
प्रत्येक साल यसै गरी आउने गर्छ
सोझा जिन्दगीको परिवेशमाथी
मडारिएर संधै अनिष्टको बादल
भयानक कठोर चट्याङ्गले चिरेर
संधै भन्दा धेरै संत्रास ल्याउंछ ।
२०५८ बिराटनगरबाट
३
नयाँ वर्ष
पोहोर झैं यसपाली फेरी
मेरो आँगनमा नयाँ वर्ष आयो
ह्रदयमा बल्झिएको घाउ
छोपेर नयाँ पालुवाले
ओईलाएको फूलबाट मुस्कान झिकेर
उहि सुर्यको नयाँ घाम संगै
हर्ष , उल्लास र केहि खुशी ल्यायो ।
भोगेको जिन्दगीले कुल्चिएर कति
छाडेका दिनहरुले तर्साएर कति
बिताएको समयले डसेर कति
विदग्ध ह्रदय बोकेर हाँसेको
निरिह मेरो रोगी पाईलाहरुमा
अलिकति साहस थपेर
मनोहर पुष्पगुच्छा अर्पिंदै
पोहोर झैं यसपाली फेरी
मेरो आँगनमा नयाँ वर्ष आयो ।
पिरतीमा पग्लिएर मुटु चुहेकाहरुलाई
जिन्दगीमा अल्झिएर बाटो भुलेकाहरुलाई
पहाड झैं अटल उभिने साहस भनेर
अविरल लक्ष्यसम्म हिंड्ने गोरेटो बनेर
नयाँ वर्ष आए सम्म संधै संधै
मेरो ह्र्दयबाट तिमीलाई
शुभ कामना छ
शुभ स्वागत छ ।
२०४९ गौरादह , झापाबाट

Thursday, April 10, 2008

गीत : अपराध नगर

विश्वास गराएर घात नगर
म माथी आज यो अपराध नगर
अझैपनि म तिम्रो योग्य छु भने
जिन्दगानी मेरो बर्बाद नगर ।

बहुलाएर म धताएर हिंड्दा
नशाले सडक तताएर हिंड्दा
सम्हालेर भन्यौ अझै तल नझर
हामी हुन सक्छौं एक अर्काको भर
म माथी आज यो अपराध नगर
अझैपनि म तिम्रो योग्य छु भने
जिन्दगानी मेरो बर्बाद नगर ।


नयाँ धुन मिठो रचेर सुनायौ
मेरो जिन्दगीको गीत गुन्गुनायौ
जगायौ म भित्र अनौठो रहर
पाएं तिमीलाई झनै वर वर
म माथी आज यो अपराध नगर
अझैपनि म तिम्रो योग्य छु भने
जिन्दगानी मेरो बर्बाद नगर ।

Wednesday, April 09, 2008

सलाम छ मेरो नयाँ नेपाललाई

हिंजोराती अबेर सम्म ईन्टरनेटमा नेपालका समाचारहरु खोजीखोजी हेरेर बसेको थिएं । हिंजैराती मैले सोचेको थिएं भोली बिहान सबेरै उठेर उदाउंदै गरेको सुर्यलाई भेट्छु र उसलाई अनुरोध गर्छु कि भोली तिमी मेरो देशमा झुल्किंदा नयाँ विहानी लिएर झुल्किनु । दशकौंदेखि हामी नेपालीहरुले देखेको सपना पुरागर्ने प्रकाश छरेर झुल्किनु । अझ मैले बिहानीको सुर्य हेरेर आज यौटा कविता लेख्ने पनि प्रण गरेको थिएं तर जब म उठें हिंजो रातीको मेरो सोच सपना झैं भयो । बाहिर पानी परिरहेको रहेछ । सुर्यलाई तुंवालोले छेकिदिएछ । एकछिन सम्म मन साह्रै अमिलो भयो । एकदुई दिन अघि यौटा कविता लेखेको थिएं भोलीको उज्यालो भनेर -

यौटा साँझले घाम डुबाउंछ
अन्धकारलाई निम्तो दिई
कालरात्री डाक्छ
ए ! विचलित मनहरु
हरेस नखाउ
घाम त भोली झुल्कने छ
भलै तुँवालोले सुर्य छलोस
उज्यालो छेक्न सक्ने छैन
त्यो उज्यालो तिम्रो हुनेछ
मेरो अनि उसको हुनेछ
विश्वास गर ए ! मनहरु
भोलीको उज्यालो हाम्रो हुनेछ ।


मेरो आजको दिन त्यस कवितामा लेखेझैं तुंवालोले सुर्य छलिएर सुरुभयो । बिहानभरीको काम सिध्याएर मैले अहिले यो लेखिरहंदा नेपालमा मतदान शुरुहुन आधाघण्टा भन्दा कम समय छ । आजको दिनले कोर्ने मेरो भोलीको नेपालको चित्र आजको मेरो दिनझैं झरी परेको नहोस यस्तै कामना गर्छु । निश्चय नै नेपालमा हामी नेपालीले आशा गरेझैं नयाँ बिहानको शुरुवात भै सकेको छ । कुनैपनि तुवाँलोले अब हाम्रो उज्यालो छेक्न सक्ने छैन तर पनि मन खिन्न छ । आजै सुर्यले बेईमान गर्यो । संधै मलाई उठाउने घाम मेरो कोठामा छिरेन । आज सुर्यलाई भेट्ने इच्छा थियो तर दिनभरी नै देखा परेन । आज सुर्य देखेको भए म कस्तो कविता लेख्थें हुँला सोचिरहेछु अहिले तर सुर्य नदेखेको रन्कोमा अहिले सम्म कविता लेख्ने जाँगर आएन अब लेखेंभने पनि मेरो कवितामा सुर्यसंग गुनासो हुन्छ होला त्यसैले बरु आज म कविता नै लेख्दिन । कम से कम आज म सुर्यसंग गुनासो गर्न चाहन्न ।

मैले उमेशजीको माई संसार डट कममा उपलब्ध मतदान केन्द्रमा नयाँ नेपाललाई गणतन्त्रको पक्षमा मतदान पनि गरिसकें भलै त्यसको औचित्य नहोस तर मनलाई सन्तोष भयो । लेख्दा लेख्दै अहिले यहाँ दिउंसोको ३.१४ भै सक्यो भने नेपालमा बिहानको ७ बजिसक्यो । मतदानको क्रम शुरु भयो । सलाम छ मेरो नयाँ नेपाललाई ।

(यो पोष्ट साँझ ७ १४ मा प्रकाशित गरेको देखिएको छ त्यो कोलोराडोको समय हो । म अहिले हवाईको माउई टापुमा भएकोले अहिले यहाँ दिउंसो ३ १४ भएको छ । )

Tuesday, April 08, 2008

कविता : जिन्दगी संग

ए ! जिन्दगी ,
कम् से कम् एकपल्ट त
तँ मैले सोचे झैं भईदे
धेरै भयो तैंले
मेरो छातीमा घाउ लगाएको
बरु म आफैं
कोपरेर छाती
बनाउने छु गहिरो घाउ
तर अब सहन्न
यो छातीमा पराया घाउ
पछ्याएर तँलाई
यो म कहाँ आईपुगें
आफ्नाहरु पछाडी नै छुटेछन
अगाडी कुनै गन्तब्य छैन
धेरै भयो लोभिएर
जिन्दगीको नाउंमा दोहोरिंदै
एउटै नियति बाँचेको
बरु म आफैं
कोरेर प्रतिलिपि जिन्दगीको
फर्किन्छु छुटेका साथहरु खोज्न
ए ! जिन्दगी ,
लैजा मेरो एकप्रति जिन्दगी
तर छाडिदे मलाई
स्वतन्त्र बाँच्न ।

Sunday, April 06, 2008

कविता : भोलीको उज्यालो

यौटा साँझले घाम डुबाउंछ
अन्धकारलाई निम्तो दिई
कालरात्री डाक्छ
ए ! विचलित मनहरु
हरेस नखाउ
घाम त भोली झुल्कने छ
भलै तुँवालोले सुर्य छलोस
उज्यालो छेक्न सक्ने छैन
त्यो उज्यालो तिम्रो हुनेछ
मेरो अनि उसको हुनेछ
विश्वास गर ए ! मनहरु
भोलीको उज्यालो हाम्रो हुनेछ ।

Saturday, April 05, 2008

आफ्नै कथाको बारेमा

भर्खरै मैले अप्रिलफुल शिर्षकमा यौटा कथा लेखेर सिध्याएं । लेख्न सुरु गर्दा म संग यो कथा नै थिएन । अप्रिल एक तारिखको दिन बिहान ११ बजे तिर मैले आफ्नो ब्लगमा शिर्षक राखेर कथा हो भन्ने जानकारी गराएर खाली छाडें । एक हिसाबले लाटकोसेरोले अप्रिलफुल मनाए झैं थियो त्यो । मेरो ब्लग त्यती धेरैले पढ्दैनन , केहि नियमित मेरो ब्लगका पाठकहरुले भने मेरो कविता , गीतहरु मनपराएर मलाई अझै लेख्ने प्रेरणा दिन्छन । उक्त खाली पोष्टमा भने यौटा कमेण्ट थियो कथा लेख्न बाँकी हो ? भनेर । उक्त कमेण्ट लेख्ने अज्ञात ब्याक्तीले मेरो यो कथा पढ्न फेरी मेरो ब्लगमा प्रवेश गरेको छैन होला सायद । त्यसो त साह्रै अल्छी गर्दै मैले उक्त कथा चार तारिखमा सकें र नेपाली पोष्टमा प्रेषण गरें । ५ तारिखमा नेपाली पोष्टमा प्रकाशित पनि भएको छ तर त्यहाँ कथाको शिर्षक नै गल्ती भएकोमा आफैं दुखी छु । मेरो कथा स्तरिय नहोला तर कथा भने पक्कै हो भन्ने कुरामा म ढुक्क छु ।

उक्त कथा लेखुञ्जेल सम्म मलाई केराबारी , जोरथाङ्ग , कर्मटारतिर बरालिएको सम्झना आईरहयो । त्यतातिरको बोलीचालीलाई मैले कथामा आकर्षण बनाउन खोजेको छु र त्यहाँको सजिलै पोईला जाने चलन प्रति कथामा ब्यंग गर्न पनि खोजेको छु । म सफल भएं कि भईनं त्यो त तपाईंले भन्न सक्नुहुन्छ ।

आज ५ तारिख । हिंजै राती सुत्ने बेलामा यौटा अज्ञात कल आयो । फोन उठाएं , फोन गर्ने काली थिईन । के छ कसो छ भनेर सञ्चो बिसञ्चो सोधासोध गरेपछि उनले मेरो कथामा अश्लिलता भएको कमेण्ट गरिन । कथाले सुरुवातमा त्यस्तो छनक दिने भएपनि अपाच्य अश्लिल छैन भनेर तर्क गरें मैले । उनले अगाडी केहि भनिनन् । कथा राम्रै छ - उनको निचोड यस्तो थियो ।

हाम्रो समाजमा हामी व्यावहारमा यो भन्दा अझ अश्लिलतालाई पचाईरहेका हुन्छौं । साहित्यमा किन त्यही कुरालाई अपच भएजस्तो लाग्ने होला ? खुल्दुली भईरहयो , राती अबेर सम्म सोचें । कथामा एकदुई कुराहरु थपघट गरौं कि जस्तो पनि लाग्यो तर फेरी यसो सोचें हैन मैले जुन परिवेश कथामा लेख्न खोजेको छु अलिकति थपघट गरें भने मेरो कथाको मजा नै हराउंछ नि । त्यसैले केहि गरिनं ।