Monday, August 10, 2009

१४ थान हाईकुहरुको थोक प्रस्तुती

भन्नलाई त म ब्लगमा फर्किसकेको हुँ तर लेख्न पनि पर्यो नि त ब्लगमा भन्ने सवाल उठ्दा भने म अझै उस्तै हालतमा रहेछु । बितेको साताभरी सोचेँ ब्लगमा कसरी अगाडी बढ्ने भनेर ; कुनै मेसो नपरेको रुखको जरा बञ्चरोले ठुङ्दा चिर्न नसकेको सास्ती भोगेकै जस्तै लाग्यो बितेको साताभरी गम खाँदा ।

के गर्ने ब्लगको यो हौसला यत्तिकै चट्टक्कै छोड्ने कुरा पनि त भएन ; अनि त कोट्याउँन थालेँ कम्प्युटरका कुनाकानी कोचरेर घुसारेका अझ भनौं त रचनाकाल ताका आफ्नै आँखामा निम्छरा ठहरिका रचनाको ढेडीतिर मानौं कि म एक हिउँद र एक बर्खा खाईसकेको परालको ढेडीबाट पराल थुत्दैछु - कतै कुहिएर भ्यात्त भएको पराल निस्किँदैछ त कतै थिचिएर चाम्रो न चाम्रो भएको पराल हातमै आउन मानिरहेको छैन् ।

जे होस् यसपटक ढेडीबाट थुतथात पारेर चौध थान हाईकु भेला पारेर ल्याएको छु - भन्नै पनि १४ थान हाईकुहरुको थोक प्रस्तुती भनेर। हाईकु मैले निक्कै पहिले नेपालमा हुँदै पनि लेख्ने गरेको थिएँ यद्दपि म हाईकु लेख्न जान्दिंन तर यि भने उस्ता पुराना पनि होईनन् न त नयाँ नै हुन् । कस्ता रा'न् चैं तपाईंहरु नै ठम्याउनुस् ।
-------------
हातै बैगुनी
गुलाफ जस्तो मुटु
वैलेर झर्यो । १
---------------
बन्द बोतल
भित्र मलाई थुन्ने
उ विष कन्या । २
...
बन्द बोतल
म भित्र थुनिएको
विष कुमार । २

----------------
ढुँगाका द्यौता
खै पट्टक्कै बोलेनन्
साक्षात् भए नि । ३
--------------------
निशब्द तिम्रा
गुलाबी ओठहरु
कागजी फूल । ४
------------------
टाल्नै सकिँन
छिद्र थियो मुटुमा
मनको बाघ । ५
------------------
पराया मान्छे
निसँकोच कुल्चिन्छ
शिरको टोपी । ६
------------------
नाङ्गै देखिन्थ्यो
पत्पती धुँवा उठ्यो
बन डढेछ । ७
------------------
कालो बादल
भय चट्याङकै छ
बिना अगुल्टो । ८
-----------------
खुशी छल्केको
एक हूल मनमा
चन्द्र र सूर्य । ९
-------------------
त्यो अँगालोमा
चन्द्र सूर्य देखियो
अनन्त हर्ष । १०
----------------------
फेरी बल्झियो
म टाढा भए पनि
आमाको माया । ११
---------------------
आशा आँखामा
कसैले उघार्दैछ
नीलो आकाश । १२
--------------------
अझै उचाल
आकाश छुनै लाग्यो
राष्ट्रिय झण्डा । १३
----------------------
चुकेको चुरा
धुम्मिएछ आकाश
पानी पर्छ रे ! १४
------------------------
यसपटकलाई त जसोतसो ढेडीबाट हाईकु थुतेर काम चलाएँ तर तत्कालै चिन्ता यो छ कि अगाडी के गर्ने होला ? हैन यो दिमाग किन मात्रै खाली शिशी भएको हँ ? पुराना कागज पनि भैदिए तिन्मा केरेको केहि न केहि फेला पर्थ्यो होला नि ?

12 comments:

  1. मिठा छन दीपक जी, ढेदिका हाइकुहरु,
    खालि शिशी नबनाउनुस आफुलाई,
    त्यस भित्रको रस जति थुत्यो उति पलाउदै जाओस !


    शिशिरे हाँगो
    "तर" फेरी भरिन्छ,
    मान्छेको मन

    ReplyDelete
  2. Anonymous5:26 PM

    nice haikus...

    ReplyDelete
  3. "नि:शब्द तिम्रा
    गुलाबी ओठहरु
    कागजी फूल ।"

    "पराया मान्छे
    निसङ्कोच कुल्चिन्छ
    शिरको टोपी ।"

    'कतै कुहिएर भ्यात्त भएको पराल निस्किएको त कतै थिचिएर चाम्रो न चाम्रो भएको पराल हातमै आउन नमानेको' यो ढेडीमा मैले भने भोक मज्जैसँग खाँदिएर बसेको पाएँ ।
    केही हाइकु साह्रै असरदार लागे ।
    अब ब्लग लेखिने छाँट नआई सुख ?

    ReplyDelete
  4. i also dont know about haiku but powerful expression

    ReplyDelete
  5. मलाई पनि यो हाईकु को बारेमा त्यति जानकारी छैन ।तर पनि तपाँईका यी हाईकुहरु पढ्दा भने रमाईलो लाग्यो।
    मजादार हाइकुहरु को लागी धन्यबाद!!

    ReplyDelete
  6. हाइकुको बारेमा गहिरो जानकारी नभएपनि पढन अति रमाइलो लाग्छ मलाई पनि । मेरो बिचारमा यी थोक हाइकुहरु त परालमा परेर चाम्रीएको हैन बढी नै पाकेका परेछन दीपक जी ।

    ReplyDelete
  7. Wonderful !
    keep it up .

    ReplyDelete
  8. दिपक जी ले त यो पोस्ट मा हाइकु को भेल नै ल्याएर आउनु भएको रहेछ नि ! दमदार नै लागे अनि फेरी फेरी पनि यस्ता चोटिला हाइकुहरु लिएर आउदै गर्नुस है ... दिपक जी |

    ReplyDelete
  9. Ramra chhan daju hayeku haru...........

    ReplyDelete
  10. यति राम्रा हाइकु लेख्नुहुँदोरहेछ। मैले त प्रयास गर्दा नि कत्ति मेल खान्न हौ।

    बन्द बोतल
    भित्र मलाई थुन्छे
    विष कुमारी । २
    ...
    बन्द बोतल
    म भित्र थुनिएको
    विष कुमार । २

    यसै मलाई के जंग चल्यो अनि मैले थोरै चलाइदिए है दीपकजी। ट्राइ गरेको नि तपाईकै आडमा बसेर।

    ReplyDelete
  11. धेरै धेरै धन्यवाद सबैलाई प्रतिक्रियाको निमित्त ।

    छाँट अझै भनेजस्तरी आएन है धाईबाजी ।

    अनि कैलाशजी विष कुमारी भनेको तरिका पनि राम्रो पो लाग्यो हौ ।


    कृष्णजीको मान्छेको मनको चित्रमा पनि गजबको हाईकु बनेको छ कि त्यो हाईकुमा मान्छेको मनको चित्र गजबको बनेको हो ?

    ReplyDelete