Monday, November 24, 2008

लघुकथा : एकभारी दाउरा

सँधै झिस्मिसेमै उठेर दाउरा काट्न जँगल जान्थ्यो उ । धेरै अगाडीदेखि यहि गर्दै आएको उस्लाई आजभोली बेलामा जँगल पुग्न पनि गाह्रो हुन्छ , दाउराको भारी तयार पार्न पनि गाह्रो हुन्छ र बेलुका बजारमा बेच्न ल्याईपुर्याउन पनि गाह्रो हुन्छ । उमेरले गल्दै गएपछि उसको दाउराको भारी पनि सानो आईपुग्न थालेको थियो बजारमा । अरु अरु दाउरेहरुको ठुलो ठुलो र हेर्दै दन्दनी बल्ने चिर्पट जस्ता दाउराको अगाडी उसको दाउराले कहिले भनेजस्तो त के पसिना बगाए जतिको पनि दाम पाउंदैन थियो । सँधै उसको एकभारी दाउरा किन्न बजारमै दुईचार वटा घर र पसलहरु भएका भिमसिन काजी आउँथे र उसले साठीको मोल राखेको दाउराको भारी दलाली गर्दागर्दा तीस रुपिँया दाम दिएर लैजान्थे । साँझ ढलुञ्जेलसम्म पनि अरु कसैले नकिने पछि उ सँग ति लोभि भिमसिन काजीलाई बीसै रुपिँयामा भए नि दिनुको बिकल्प हुन्नथ्यो तर भिमसिन काजी जहिले नि म भित्र नि हरी छन् तेरो एकभारी दाउरा बीसै रुपिँयामा कहाँ लिन सक्छु र भन्दै तीस रुपिँया फालेर जान्थे ।

तीस रुपिँया हात परेपछि उ भोली बिहानलाई चिया र पाउरोटी खाने दश रुपियाँ छुट्याएर बाँकी दश रुपिँयाको चना चिउरा र दश रुपिँयाको रक्सी खाएर पल्टन्थ्यो त्यतै एउटा कुनामा । आफन्त नातागोता कोही थिएनन् उसका । कसैसँग उसको नाता सम्बन्ध थियो त भिमसिन काजीसँगै थियो यौटा दाउरे र ग्राहकको ।

आजपनि उसले एकभारी दाउरा ल्याएर बजारको एक छेउमा पछारेको मात्र के थियो कहिल्यै उसको दाउरा सोध्न नआउने मान्छेहरु आएर दाउराको दाम सोध्न लागे । उसले साबिककै दाम बतायो साठी रुपिँया । उनिहरुले सय रुपिँयाको नोट फाल्दै दाउरा उठाउन खोजे । एकछिन उ अलमल्ल पर्यो । यि मान्छेहरु आज बौलाएछन् क्यार भन्ने लाग्यो र तुरुन्तै उसले भन्यो , ' हुँदैन हुँदैन । म यो दाउरा भिमसिन काजीलाई मात्र बेच्छु सँधै उनले तीस रुपिँया दिन्छन् । त्यती भए पुग्छ मलाई । तपाईंहरुलाई त दुई सयमा नि दिन्न ।'

दाउरा उठाउँदै यौटाले भन्यो , ' अब भिमसिन काजी आउँदैनन् तिम्रो दाउरा किन्न , उनैलाई जलाउन किन्न लागेको तिम्रो दाउरा । ल खुरुक्क त्यो पैसा राख । '

उनिहरु दाउरा उठाएर हिँडे । उसलाई आज यौटा आफन्त गुमाएझैं लाग्यो । सोच्यो - भिमसिन बुढाले बाँचुञ्जेल लोभ गरेर उसलाई तीस रुपिँया मारेको सायद मरेपछि पनि पैसा चाहिन्छ भनेरै हो क्यार । उसले पनि जिन्दगी भरी तीस रुपिँयामा एक भारी दाउरा बेचेर आधापेट खाने त हो । आज एकदिन यो सय रुपिँया समातेर के गर्नु भोली देखि उसको दाउरा पनि कसैले किन्ला कि नकिन्ला बरु आजको आधापेट चना चिउरा त भिमसिन बुढाको मलामी गएपनि खान पाउँछु नि , भयो लिन्न म यो भिमसिन बुढाको मरिसकेपछिको पैसा । यस्तै सोचेर उ पनि उतै दगुर्यो र पैसा फिर्ता गरेर मलामीको हुलमा मिसियो ।

9 comments:

  1. धेरै पछि दिमागमा गहिरो छाप बस्ने खालको कथा पढन पाएँ।

    कथाको समाप्ति पछि पनि पाठकलाई केहि सोच्न र कथाकै वृत्तमा डुब्न प्रेरित गर्ने प्रसंगले यो कथालाई निक्कै स्तरिय र रोचक बनाएको छ।

    एकदमै मन पर्‍यो मलाई यो एकभारी दाउरा

    ReplyDelete
  2. dada, it was a really nice piece. Ani, easy read pani, thank you. It reminded me of the stories from Mahendramala - good old memories.

    ReplyDelete
  3. deepak ji,
    Namaskar,Tapaiko creation aka bihanai padhna pauda atinai khushichhu.Atinai sundarchha.pragati ko lagishubhakamana.

    ReplyDelete
  4. Anonymous8:03 AM

    माथि दिलिप जि ले भन्नु भए झै कथाको समाप्ती पछी सोची रहन वाध्य बनाउने यो कथा ले अहिले सम्म पनि मलाई सोच्न वाध्य बनाएको छ ।
    बहु कोण बाट कथाले शन्देश दिन्छ ।
    यस्तै गुणस्तरीय कथाहरु आउदो दिनमा पनि पढ्न पाइरहियोस ,शुभ कामना हिर्दय देखी नै ।

    ReplyDelete
  5. यो एउटा गरिब, निमुखा जनताको सही चित्रण हो ।

    ReplyDelete
  6. दिलीपजी , यौटीसाथी , बिमलजी , लुनाजी र आकारजी यहाँहरु सबैलाई मेरो एकभारी दाउराको कथा मनपराईदिनुभएकोमा हार्दिक धन्यवाद !
    र यो कथा पढेर मौखिक प्रतिक्रिया दिनुहुने एकु बैनिलाई पनि धन्यवाद ।

    यौटी साथी तपाईं पुर्वतिरकै हुनुहुँदोरहेछ भन्ने अनुमान लगाएँ ' दादा ' सम्बोधन देख्दा । खुशीलाग्यो , तपाईंलाई यौटी बैनि पो भनुँ कि क्या हो ?

    ReplyDelete
  7. दीपक जडित जी ! तपाई को यो लघु कथा लेखकको नाम बिना नै कतै पढेको थिएँ एक दमै राम्रो लागेर लेखक खोज्दै जाँदा तपाई को नाम भेटियो ! निरंतरता दिनुहोला !

    जे.बी.शेर्पा

    ReplyDelete
  8. जेबिजी , धन्यवाद यहाँलाई यस जानकारीको निमित्त साथै कथा मनपराउनुभएकोमा पनि धन्यवाद ! नाम बिनै राख्ने त्यो साईटको बारेमा थाहा पाउन पाए हुने थियो ।

    ReplyDelete
  9. दीपक जी ! त्यों साईट हो www.sherpakyidug.org तर समस्या के छ भने user ID भएका जसले पनि आफै ले पोस्ट गर्न सक्छन ! तर जसले पोस्ट गरिदिएको भएपनि कमसेकम लेखक को नाम राखे राम्रो र इमानदारीपन देखिन्थ्यो !

    ReplyDelete