Tuesday, July 26, 2011

गीत : आजै नगर

यो मिलन वर्षौंपछि भएको छ
विछोडिने कुरा तिमी आजै नगर
फेरी अर्को सिंगै यूग मलाई
तड्पाएर राख्ने कुरा राजै नगर ।


यो खुसीमा छल्किएका आँसुहरु नझरी नै
पिरतीमा खापिएका कति कुरा नगरी नै
कुल्चेर रहर यि सबै
फर्किजाने कुरा तिमी ताजै नगर
यो मिलन वर्षौं पछि भएको छ....... ।


प्रहर धेरै यो रातको कटाउन बाँकी छोडी
आँखाको यो पर्दा लाजको हटाउन बाँकी छोडी
कालो रात ओढेर एक्लै
निदाउने कुरा तिमी सम्साँझै नगर
यो मिलन वर्षौं पछि भएको छ....... ।

निक्कै अगाडी देखि यो गीत फेसबुकको नोटमा ड्राफ्ट बनेर बसेको रहेछ । अचेल कलम नचलेर न फेसबुकको नोट न ब्लग कतैपनि रचनात्मक उपस्थिती नभैरहेको बेला यो गीत भेटेर राहत महसुस मात्र गरिंन कि फेसबुकको नोट र यहाँ ब्लगमा समेत एकैपटक राखिदिएँ । कास् यसरी नै कुनाकानी दिनदिनै केहि न केहि भेटिदों हो त!

Wednesday, July 20, 2011

गजल : मानो चामल बोकेर आए

कोहि मिती र समय तोकेर आए ।
कोहि अचानक तर खोकेर आए ।

जो ठान्थे निषेध छ तिन्लाई प्रवेश,
बिरालोको चालमा श्वास रोकेर आए ।

सानो खुसीमै आँखा तर्दै हिंड्नेहरु,
बिजोग हेर्न चैं जिब्रो टोकेर आए ।

तमाशा चल्छ मानौं केहि दिनसम्म,
कोहि त दैलोमै ताल्चा ठोकेर आए ।

भोकै बाँच्थ्यो त्यो मर्यो भोकले नै जब,
छिमेकी मानो चामल बोकेर आए ।

Tuesday, July 12, 2011

कविता : मेरो आदिम गीत

स्केच गूगलको सापट हो
 
कागज
थियो एकपाना
खाली खाली
जहाँ
जे पनि लेखिन सक्थ्यो
कलम
थियो एक थान
सहि-सलामत
जस्ले
जे पनि लेख्न सक्थ्यो
तर
थिएन लेख्ने कोहि
पर पर सम्म
अत:
अनेक मध्ये
पृथ्वीको एक कुनामा
एउटा कविता
नकोरिएरै रचिएको छ
प्रकृतिकै खुल्ला पन्नामा
एउटा गीत
नलेखिएरै गाइएको छ
प्रकृतिकै अनमोल छटामा

त्यहि गीत
बनेको छ आज
मेरो आदिम गीत ।
         ***
३० जून २०११
साउथ किहे, हवाई