Saturday, May 23, 2009

जन्मदिनको शुभकामना म आफैंलाई ।

'खै म कहाँ बेपत्ता छु , कता बेखबर छु आफैंलाई थाहा छैन ।'

'यो नचाहिंने कुरा गर्न नि अलि सुहाएन । आफु कता छु भन्ने आफैंलाई थाहा हुँदैन र ?' यस्तै लाग्ला तपाईंलाई मैले त्यसो भन्दा तर मैले ब्लगर मलाई बेपत्ता नै पार्न लागिसकेको छु । गीत , कविता , गजल कथा ईत्यादी लेख्ने मलाई कता हो कताको दुर्गम अनाकण्टार(यो भनेको चैं स्थान विषेशको दुर्गम हैन जाँगर हरा'को अनाकण्टार है)मा लगेर छोडेको छु ।

किन हो ?

थाहा छैन ।

दैनिक कम्प्युटरको अगाडी नै हुन्छु तर म हुँदो रहेछु ; लेख्ने म चैं नहुँदो रहेछु ।

कारण पनि केहि छैन म हराउनुको ; बिना कारण हराईरहेको छु ।

केहि सोच्न नसके जस्तो , लेख्न नआए जस्तो भै रहेछ ।

यतिखेर यो शब्दहरु लेख्न पनि सकस भै रहेछ ।

आज मे महिनाको २३ तारिख मेरो जन्मदिन - जन्म दिनको शुभकामना म आफैंलाई ।

फेसबूकमा , फोनमा , जीमेलमा , याहुमेलमा , हटमेलमा सबैतिर मलाई शुभकामना भन्नुहुने साथीभाई ईष्टमित्र , आफन्त सबैलाई हार्दिक धन्यवाद !
(कतिपय ठाउँमा मैले धन्यवाद भन्न सकिनँ भने पनि यसैले त्यसलाई पुरा गरोस् ।)

ब्लगमा टाँस्न अलि गतिलो कुरा नै केहि फेला परेको छैन - यौटा टुक्रा गीत सम्म लेखेको छैन - अरु थोक लेख्ने त कुरै नगरुँ ।

आफ्नो ब्लगमा केहि नलेखे पनि छरछिमेकमा चिहाउने भने गरिरहेको छु । त्यो क्रममा पनि कमी आएको होला तर बन्द भएको छैन ।

प्रतिक्रिया लेख्ने जाँगर कतै आएको छ , कतै त्यो जाँगर धरी मरेको छ त कतै लेखेर पोष्ट गर्न खोज्दा पोष्ट नै नभएको पनि छ ।

सम्पुर्ण ब्लगर मित्रहरु सँगको सामिप्यतामा दुरी बढ्दै गै रहेको प्रति स्वयँ दुखी छु र पनि 'आ'म सरी' भन्दा नक्कल पारेको जस्तो देखिएला भन्ने लागेको छ ।

आज कमसे कम फेसबूकमा पनि दुई शब्द कोर्ने विचार गरेको छु ।

यहाँ चैं धेरै केहि भन्नै सकिनँ यो भन्दा - सोचाईहरु हुल बाँधिएर लाम/क्रम मिलेर चरिरहेका हरिणको बथानलाई सिँहले झम्टेर छिन्नभिन्न बनाएझैंको अवस्था छ ।

छिट्टै साबिक अनुशार भएर आउने प्रयासमा छु ।

Tuesday, May 05, 2009

कविता : ति आमा , मेरी आमा

झाङ्गल र झुङ्गल
दिनभरी पाखोबारी खोस्रेर
साँझ एक हात झिक्राझाम्टा सहित
दैलोबाट भित्र छिरेकी ति आमा
टुसुक्कै नबसी भाँडो खरानी लगाएर
कहाँ निस्किईन होली कठै !

पानीधारा सुकेको जुगौं भै सक्यो
छोरीहरु पानी भर्न सक्दैनन्
कुच्चिएको हल्लुङ्गे गाग्री बोकेर
हाँफ र झाँफ गर्दै अँध्यारोमै
टाढाको पँधेरो पो पुगिन् कि ?

घरमा अन्नको गेडो पनि त बाँकी थिएन
छोराहरु एकछाक अन्न जोहो गर्न सक्दैनन्
बिट फुस्किएको डालो च्यापेर
अँध्यारैमा सुमुसुमु
ऐँचोपैँचो खोज्न गाउँतिर पो लागिन् कि ?

सन्ततीहरु आज
करेसाको डिलमा उक्लिएर
खै गर्दै
'ए ! आमा !' भन्न लाज मानिरहेछन्
आफु र आफुमै मस्त सन्ततीलाई
ति आमाको रत्ति फिक्री छैन
जतिसुकै बेला आमा घर फिरुन्
या नफिरुन्
चुल्हामा आगो जोर्न कसैलाई खाँचो छैन
अँध्यारो घरमा टुकी बाल्न कसैलाई फुर्सद छैन
सबैले देखेका छन्
भाँडो खरानी लागीसकेको छ
सबै ढुक्क छन्
केहि त पाक्ने छ
पर्वाह छैन
जे पाकोस् / जसरी पाकोस्

बरु आमा प्रति गुनासो गर्न
लामबद्द कुरीरहेछन् सन्ततीहरु
भन्नेछन् देख्नासाथ
यो भएन / उ भएन
यसो हुनुपर्थ्यो / त्यसो हुनुपर्थ्यो

मुहारको चमक हराईसकेकी
आँखाको पानी सुकिसकेकी
ति आमा
सुकेको त्यान्द्रो ओठमा
सँधै जस्तै मुस्कान च्यापेर
फिर्ने हुन् कि होईनन्
कस्ले गर्ने खै सोधखोज ?
कस्ले गर्ने खै चिन्ता ?
कस्ले गर्ने खै पिरोलो ?
ति आमाको , मेरी आमाको
आँखिर म पनि त
लामबद्ध छु त्यहीँ
आमालाई नै गुनासो गर्न ।

अस्ति हाम्रो माता तिर्थ औंशीको दिन लेख्न सुरु गरेको थिएँ खासमा यो कविता । आमाको बारेमा लेख्छु भन्ने सोच थियो तर के लेख्छु भन्ने थाहा थिएन । त्यसबेला सुरु गर्दा अहिलेको अन्तिम अनुच्छेदबाट सुरु भएको थियो तर पुरा नगरी छोडेको थिएँ । हिँजो फेरी अलि थपथाप पारेँ तर पुरा गर्न सकिँन । आजभोली कविता लेख्न निक्कै गाह्रो हुन थालेको छ मलाई । जे त पर्ला आज पुरा गर्छु भनेर जेनतेन पुरा गरेँ ति आमा , मेरी आमा को कविता ।