Sunday, March 29, 2009

सहर खरानी आतङ्कमा र म अझै मस्तमा

अर्थोक त के नै पो हुन्थ्यो र मसँग ब्लगमा लेखेर बाँड्नलाई ; कविता , गीत , गजल ईत्यादि बाहेक तर ति नै पनि क्रम मिलाई , समय मिलाई प्रस्तुत गर्न असमर्थ भै रहेछु । कारण उहि महाभारत कथा नै बनेको छ । भिजेको छु लछेप्रै त्यसैमा । डुबेको छु चुर्लुम्मै त्यसैमा ।

गत मार्च २२ मा एँकरेज ( म बसेको सहर ) भन्दा १०६ माईल टाढा दक्षिण पश्चिम तिर अवस्थित Redoubt Mountain मा ज्वालामुखि विष्फोटन भएको थियो जस्ले पछिल्लो हफ्ताभरी एँकरेज सहरमा समेत खरानी आतङ्क ल्यायो । विष्फोटनले ६०,००० फीट माथीसम्म खरानी उडेको थियो र वरपर फैलेर उक्त स्थानबाट अझ नजिकका ठाउँमा त ठुलै आतङ्क फैलाएको थियो भन्छन यहाँका गाउँलेहरु । यो सहरमा आउने जाने हवाई उडानहरु समेत पटक पटक रद्द भए त्यसैले यो खरानी आतङ्कलाई यस्ता मुला भन्न पनि नमिल्ला । मैले भने त्यसैबेला सहर भन्दा अलि बाहिर गएको हुनाले खरानीले ढाकेर वरपरका स्निग्ध हिउँ पनि धैलैमैलै भएको सम्म देखेँ । मैले त अझ , गाडीहरुको सिसामा बाइरोडकै बाटोमा धुलो उडाउँदै कुदाउँदा जस्तै हुन्छ होला भन्ने आशा गरेको थिएँ तर त्यति साह्रो त भएन । खरानी आतङ्कबाट तर्सिएका मान्छेहरु मुखमा महला लगाएर हिँडेको पनि देखिन्थ्यो । नलगाउन पनि किन त्यो चट्टान जलेर उडेको खरानी चट्टानकै कणहरु त होला । त्यो सिधै फोक्सोमा पस्यो भने त खत्तमै पनि पार्ला नि ? गाडीको फिल्टर त बिगार्दो रहेछ । कतिले फेर्नु पनि पर्यो गाडीको फिल्टर । त्यस्तै उड्दै गरेको जहाजको पनि ईन्जन झ्वाम बनाउने त्यो खरानी आतङ्कबाट बच्न आफुले चैं भने महला किन्नु पर्ला कि मात्रै भनियो । "आयूको छोरालाई वायूले खाँदैन" भन्ने उखान सुन्दै भन्दै आएको गोर्खाली न परियो । भलो कुरामा कहाँ अघि बढिन्छ र ? धन्न खरानी आतङ्क उधुमै थिएन र बचियो । अहिले आएर केहि मत्थर भएको छ यो ज्वालामुखि तर अझै बहुलाउन सक्ने सम्भावना रहेको जोखाना हेरेका छन् यहाँका भू-गर्भशास्त्री भनिने धामीझाँक्रीहरुले । भोली के हुने हो भन्न सकिँदैन त्यसो त तर त्यही ज्वालामुखिकै सिकार त नभईएला नि गाँठे ।

यसो यताउताबाट त्यो ज्वालामुखिको केहि तस्विरहरु पनि भेला गरेको थिएँ देखाउँ भनेर । कताकताबाट ल्याएँ भन्ने चैं याद नै भएन गूगल गरेर निकालेको हुँ ।

यो चैं अहिले भन्दा अघिल्लो पटक सन १९८९ मा विस्फोट हुँदाको चित्र । एटम बमले उठाएको मसरुम क्लाउड ( च्याउ बादल ) जस्तो पो भएको रहेछ नि ?


अनि बाँकी तलका सबै चैं त्यही ठाउँ यस्पाली २००९ मा पड्कँदाका तस्विरहरु ।













र यो चैं हवाईको बिग आईल्याण्डमा भएको सदाबहार , लाभा लाभा बगेर कहिल्यै नथाक्ने ज्वालामुखिको गुगल भिडियोहरुको लिँक -

http://video.google.com/videosearch?q=big+island+volcano+2009&emb=0#

http://video.google.com/videoplay?docid=5138291898525259472

आँखिर यो संसार यस्तै त हो - कैले के कैले के , कहाँ के कहाँ के , म चैं भने मस्तले महाभारत कथा सकाउने सुरमा छु । अर्थोक जे सुकै हुँदै गर्छ । हैन त ?

Thursday, March 26, 2009

महाभारत कथामा पो मस्त आफु त

केहि दिन भयो मैले आफैंलाई ब्यस्त बनाएर राखेँ ; ब्यस्त भन्दा पनि मस्त बनाएर राखेँ भन्दा ठिक होला । दैनिक जीवनमा गर्ने कामकुराहरु त छँदैछन् ति सब नगरे न यहाँ मेरो काका न मामा धरै छैन तर दैनिक जीवनमा गर्ने काम सकेर उब्रेको समय ब्लग मार्फत के के कोरेर सबैलाई सुनाउँदा लाग्थ्यो मसंग प्रयाप्त समय छ । म चाहे अनुशार गर्न सकिरहेको छु - त्यै घमण्डले हो क्यार मलाई महाभारतको कथा दोहोर्याउन मन लाग्यो । स्कूलका किताबहरु देखि नै टुक्राटाक्री पढ्दै र गाउँघरमा बुढापाकाहरुबाट पनि धेरथोर सुन्दै आएको महाभारत कथाको ठेली नै अघिल्तिर खोलेर पढ्न त सम्भव के होला र ? तर त्यही टेलिभिजनका पर्दामा अधकल्च्याउँदै हेरेको कथा (नाटक) यसपाली भने पढ्ने ( हुनत त हेरेको हो र पनि महाभारतलाई कुनै ब्यावसायिक चलचित्र हेरेझैं हेरें भन्नु भन्दा पढेँ नै भन्न मन लागेर ।) छुद्धे जाग्यो र यसबिचमा करिब करिब ६० भाग पुर्याएर सास फेर्न बिसाएको छु । फेरी यो कथा नै कस्तो भने पढेर अघाए जस्तो लाग्दै नलाग्ने । चाहेको कुरा पुर्याईदिने चमत्कारी यु ट्युबलाई भने धन्यवाद दिनैपर्छ मैले मन खोलेर ।

केहिदिन पछि फर्केर ब्लगमा आउँदा त "बाबै ! कहाँ हो कहाँ छोडिएछु म त अलपत्रै!" भनेझैं लागीरहेछ । हिँजो हो क्यार केहि मित्र ब्लगहरुतिर घुस्रीपनि हेरेँ । निक्कै मित्र ब्लगहरुसम्म त पुग्नै सकेको छैन यो बिश्राम पछि तर धेरैदिन पछि आएर हो कि क्या हो , कतिपय ब्लगमा पसेर टाँसो पढेर प्रतिक्रिया लेख्न खोज्दा मरेकाटे सकिँन । निक्कै पछि आउँदा ब्लगले पनि नचिने जस्तो क्या त । अनि अझ कुनै मित्र ब्लग त खोल्दा सरक्कै खुल्ने फेरी निमेषमै थपक्कै लुक्ने र पुरै ब्ल्याङ्क(सेतो) भईदिने भन्या । कस्तो आपत ! (सम्बन्धित ब्लगर मित्रहरुलाई खबर गरेको हुनाले कहाँ कहाँ यस्तो भयो भनेर चैं लेखिँन है ।)

ब्लगबाट हराएर हराउञ्जेलको दिन हिसाब लगाउँदा धेरै टाढा भएको छैन जस्तो लाग्ने तर ब्लगहरुमा पस्दा भने लौ आफु यौटा युगै पछि परेजस्तो हुने रहेछ र पनि अझै केहिदिन भने जोडतोडका साथ महाभारत कथा अघि बढाउने बिचारमै छु । यसैबिचमा अर्थोक केहि गरिँन भन्दा पनि यौटा गजल लेख्ने मेसो पाएँ र लेखेँ महाभारतका महाखलनायक 'शकुनि' शब्दलाई काफिया बनाएर सुरु गर्दै । अहिलेलाई यता ब्लगमा तपाईंहरु घुम्दै फिर्दै आईपुग्नुभयो भने टक्र्याउँनलाई पनि त्यही गजल यहाँ छोड्नु पर्ला जस्तो लाग्यो ।

आज पनि यो समाजमा शकुनिहरु छन् ।
महर्षि व्यास र द्रोण जस्तै मुनिहरु छन् ।

विचार्नु हरेकले परेको छ समिपमा ,
आफ्नै कति हितकारी र बैगुनीहरु छन् ।

विवश समय लेख्छ दैनिक युद्ध कथा ,
यहीँ थिच्ने , थिचिने र उठ्ने जुनीहरु छन् ।

बद्लेर स्वरुप निस्कियो धर्म सडकमा ,
न्यायको नाममा टायरको धुनीहरु छन् ।

कैद गरी जोरजोरै परेवा मन्दिरमा ,
शान्ती 'दीपक' जलाउने नै खुनीहरु छन् ।


भेट्दै गरुँला है त - गजल सम्बन्धमा प्रतिक्रिया लेखिदिनुहुन्छ भन्ने आश चैं छोडिनँ है ।

Monday, March 16, 2009

गजल : काँस जिन्दगीमा

पछिल्लो यो गजल केहिदिन अघि लेखेर गजल ग्रुपमा देखाईसकेको भए पनि यता ब्लगमा राख्न अहिले साईत जुरेको छ ।

बाँझै पल्टेर मनपरी उम्रिएछ घाँस जिन्दगीमा
फूल रोपेँ मन बगर भै फूलेछ काँस जिन्दगीमा ।

न काढेर चोयाबाता धूरी जीवनको कस्न सकियो ,
अर्थीकै निमित्त केवल झ्याङ्गीएछ बाँस जिन्दगीमा ।

निर्मल नील गगन् झैं थ्यो सुक्यो कि मनको सरोवर ,
के फूल्थ्यो हेला कमल ति उड्यो राजहाँस जिन्दगीमा ।

खिईरहेकोछ नङ्ग्रा अनवरत उचेरा पल्टँदै ,
पोखिन्छ भाग लाउँदा कि त खोसिन्छ गाँस जिन्दगीमा ।

ऐया ! कहाँ भन्न सक्छ टोकेर आफैंलाई 'दीपक'ले ,
पिईरहेछ आफ्नै रगत बनेर डाँस जिन्दगीमा ।

Thursday, March 12, 2009

गीत : तिमीलाई छुने रहर

केहि अगाडी ब्रजेश दाइको खेस्रामा जे एस श्रीवास्तव , दीपक बज्राचार्य र फारसी शेर शिर्षकको पोष्ट पढ्दा प्रतिक्रियामा यौटा गीत लेखेको थिएँ जस्लाई आज यहाँ ल्याउँदैछु । निश्चय नै यो गीतमा संयोजन गरिएका शब्दहरु मेरा हुन तर यो भावना भने मेरो पक्कै होईन ; मैले त कुनै फारसी सायरको सायरीलाई ब्रजेशदाइले उल्लेख गर्नुभएको र त्यसै आधारमा कविताको आकार दिनुभएको भावनाबाट लिएको सापटी भावना हो यो त्यसैले म चैं अन्यौलमा छु यस्लाई मैले आफ्ना गीतहरुको लहरमा उभ्याउन मिल्छ कि मिल्दैन भनेर । तपाईंहरुलाई केहि आईडिया भए बताईदिनुस् है ?

कथा बन्यो यो जुनी तिमीलाई छुने रहर
नमरी पुरा हुँदैन होला तिम्रो हुने रहर ।


मर्दैन भन्छन यो माया उस्तै रहन्छ रे प्यास
यहि प्यास मेट्न आजै छाडिदिन्छु धर्तीको बास
तर पर्ख सडेर मलाई यै माटोमा बिलाउन देउ
बरु फूल भै अर्को जुनी चिहानमा पलाउन देउ ।


मेरो लासमाथी तिमीले चढाउन्नौ फूल थाहा छ
खसाएर आँसु म माथी गर्दैनौ भूल थाहा छ
तर फूल भएर म फूल्दा सँसार लोभिनेछ
कसैले त टिपेर एक थुँगा तिमिलाई नै दिनेछ ।


शिउरिँदा केशमा त्यही फूल मायाले छातीमा टाँस्दा
तिम्रै भएर म हाँस्छु त्यही फूलमा तिमीले हाँस्दा
जब चुम्ने छौ प्रेम पोखेर त्यही फूल तिमी ओठैमा
मेटिनेछ यो मेरो प्यास रित्तो भए नि बोटैमा ।

Monday, March 09, 2009

लघुकथा : प्रोत्साहन

देशभरी नाम चलेका केहि कवि तथा साहित्यकारहरु राजधानीबाट आएर उनकै सहरमा साहित्यिक गोष्ठी गर्दैछन् भन्ने खबरले पुलकित थिईन् देवकी अझ त्यसमाथी प्रमुख अतिथिको रुपमा हुन गैरहेको , उनले नियमित पढ्ने गरेको राजधानीबाट प्रकाशन हुने ख्याति प्राप्त साहित्यिक पत्रिकाकि सह सम्पादक एवँ उनलाई मन पर्ने नामुद लेखिकाको उपस्थितीले झनै उत्साहित थिईन् उनि । निक्कै समय देखि नै कलम चलाउँदै आएपनि उपयुक्त अवसर नपाउनाले गुमनाम रहेकि देवकीलाई कार्यक्रममा निमन्त्रणा त थिएन तर पनि श्रोता बनेर तोकिएकै समयमा कार्यक्रम स्थलमा पुगिन् र श्रोता दीर्घामा आसन जमाईन् ।

कार्यक्रम सुरुभयो । प्रमुख अतिथि बनेकि उनको मनपर्ने लेखिकाले यस क्षेत्रमा नारी हस्ताक्षरहरु देखा नपरेकाले नारीहरुलाई साहित्य लेखनमा अभिप्रेरित गर्नलाई नै यो गोष्ठी आयोजना गरिएको भन्दा उनले ति महान लेखिकाको मनमनै प्रशँसा गर्दै जोड जोडले ताली बजाईन् । गोष्ठीमा भेला भएका सबै साहित्यकारहरुले आ आफ्नो साहित्य रचना पाठ गरिसकेपछि मञ्चमै आसन प्राप्त गर्ने गरी आमन्त्रित स्थानिय नारीहरुलाई उदघोषकले साहित्य रचना भए पाठ गर्न अथवा यस साहित्यिक गोष्ठीको सम्बन्धमा प्रकाश पार्न आग्रह गर्दा मञ्चमा आसिन स्थानिय नारीहरुले मुखामुख गर्दै हामीलाई त केहि आउँदैन भनेको सुन्दा उनलाई आफ्नो सहरकै बेईज्जत भएको महसुस भयो र श्रोता दीर्घाबाट उठेर आफ्नो कविता पाठ गर्ने अनुमति मागिन् ।

कविता पाठ गरिसक्दा तालीको गड्गडाहट सहित प्राप्त वाहवाहीले प्रसन्न उनमा तुरुन्तै ति नै नामुद लेखिकाले उनको कविताको तारिफ गर्दै ओझेलमा परेको प्रतिभालाई यसरी अगाडी ल्याउन सकेकोमा यो साहित्यिक गोष्ठी उध्येश्यमा सफल रहेको भन्ने टिप्पणी गर्दा प्रसन्नताको सीमा नै रहेन । यस्ता प्रतिभाहरुलाई हामी सँधै प्रोत्साहन गर्न चाहन्छौं भन्दै टिप्पणीमा थपेकि पनि थिइन् ति प्रख्यात लेखिकाले । कार्यक्रम समाप्ती पछि देवकी आफ्नो कविताको एकप्रति लिएर ति नै नामुद लेखिका समक्ष पुगिन् र तिनको चर्चित साहित्यिक पत्रिकामा आफ्नो कविता प्रकाशन गरिदिन अनुरोध बिसाईन् । ति लेखिकाले पुन एकपटक देवकीको कविता हातमा लिएर गौरसाथ नियाँलेपछि बडो साहित्यिक ढाँचामा जवाफ दिईन् , ' तपाईंका साहित्यिक बालीहरु अहिल्यै राजधानी भित्र्याउने बेला अलि भएको छैन ; बरु यतै मोफसलकै कुनै पत्रिकामा प्रकाशन गरे हुन्छ ।

Thursday, March 05, 2009

गजल : लिपेर प्रियले

राख्दिहुन् मन घरसँगै लिपेर प्रियले ।
मिलनको आशामा दिल खिपेर प्रियले ।

रनबन मेलापातमा बल्झँदो हो याद ,
शिउरिँदीहुन् गुराँस त्यो टिपेर प्रियले ।

हुँदोहोला सँधै यौटा तस्विर खोकिलामा ,
हेर्दी होलीन् सँगिनीसँग छिपेर प्रियले ।

नीरदाना सिह्रानीमा कोल्टे फेर्दै रातमा ,
झार्दी होलिन् पालासरी धिप्धिपेर प्रियले ।

Sunday, March 01, 2009

कथा : यु टर्न

साउथ किहे रोड प्रसान्त महासागरको किनारै किनार हुँदै माउई टापूको दक्षिण भेगमा वल्लो कुनादेखि पल्लो छेउसम्म हिंड्छ । माझमा ब्यस्त किहे बीच प्रसान्त महासागरलाई आईज मलाई डुबा भन्दै घ्याक पसारेर बसेको छ । किहे बीचकै सामुन्ने बाटोवारी काठ र बाँसका भाटाले हवाईयन शैलीमा बनाईएका चिटिक्क परेका केही एकतल्ले घरहरु छन् । हेर्दा सामान्य कुनै दुर्गम गाउँमा अनेक अभावहरु सहँदै उभिएका टहराहरु जस्ता देखिने उक्त घर क्षेत्र भने आश्चर्यजनक तथा मनमोहक तवरले सजाईएको छ । आँगनमा बनाईएका साना साना पुष्प बाटिकामा अनेकौं फूलहरु हाँसिरहेकाछन् जस्तो कि कसैलाई एकसय आठ पूष्प चाहिएको भए उसले अन्यत्र कतै खोज्न जानु नपरोस् । माझमाझमा निर्माण गरिएका स साना जलकुण्डहरुमा रँगीबिरँगी साना ठुला माछाहरु पानीको फोहरा सँगै खेलीरहेका छन् । हरेक एउटा कुण्डबाट अर्कोसम्म पानी बग्ने सानो कुलेसोले जोडिएको हुँदा लाग्छ त्याँहा खेलिरहेका माछाहरुलाई आफु बन्दि बनेको पत्तो नहुँदो हो । हरेक अर्को अर्को कुण्डमा पौडन स्वतन्त्र छन् माछाहरु ।

परम् सौंदर्यले युक्त उक्त बाटिका उर्वशी , रम्भा , तिलोत्तमा , ईत्यादि अप्सराहरुलाई अघिपछि लगाएर ऐरावत चढि विहार गर्ने देवगणका राजा ईन्द्रको स्वर्गलोकको दाँजोमा पट्टक्कै कम छैन भलै वरीपरी आलिशान् महलहरु छैनन् । बाटिकाको चारैतिर उस्तै आकार प्रकारमा निर्मित घरहरु सबै मदिरालय सहितका आधुनिक नाचघरहरु छन् । आधुनिक जिब्रोले डान्स बार उच्चारण गर्ने उक्त मदिरालय तथा नाचघरहरु सबैको आ आफ्नै विशेषता रहेको छ । कुनैमा अर्ध नग्न नाचिने , कुनैमा सर्वनग्न नाचिने , कुनै महिला समलिँगीहरु भेलाहुने , कुनै पुरुष समलिँगीहरु भेलाहुने त कुनै सामान्य प्रकारकै रहेका छन् तथापि जो कसैलाई जहिँ कहीँ जान उमेरको हद बाहेक अन्य छेकबन्ध छैन । ति नै मदिरालयहरु मध्येको यौटा टिकी लङ्ग नामले प्रसिद्ध नाचघर सहितको मदिरालयमा चारवटा कुना भएको बारको एक कुनामा साथीहरु पर्खेर डी बसिरहेको छ ।

हातले बार टेबलमा राखेर पिउँदै गरेको रक्सीको गिलास खेलाउँदै उ भित्रै मुटु कलेजै थर्किने गरेर बजिरहेको गीत ठम्याउने कोसिस गरिरहेको छ । एक त उसले पहिले नसुनेको जस्तो लाग्ने गीत त्यसमाथी डीजेले प्लेयरमा सीडी घोटेर फुल पार्ने बेलाको कुखुरी कोर्कोराएझैं बनाउँदा उसलाई गीत बुझ्नै गाह्रो भै रहेछ । गीतबाट हटेर उसको ध्यान डीजेमा केन्द्रित हुन्छ । कालो वर्ण , खँदिला बलिष्ट पाखुरा भएको झण्डै ६ फीट उचाई भएको डीजेले सिक्स्टी नाईन नम्बर लेखिएको बास्केट बल खेलाडीको झैं जर्शी लगाएको छ र गीतको हाउभाउ अनुरुप शरिर मर्काउँदै प्लेयरमा सीडी घोट्न ब्यस्त छ उ । सायद उ बारमा नाच्न आउने युवतीहरु आफुमा आकर्षित भईदिउन् भन्ने पिरोलोमा छ । उ यहाँको आम मान्छे । बस्दो हो कतै अपार्टमेण्ट लिएर एक्लै । न बाउ आमा पाल्ने झण्झट हुँदो हो उसलाई न दिदीबैनिको बिहेबटुलोको चिन्ता । न अधिकारको निम्ती लड्नु पर्दो हो कसैसँग न भेदभावमा परेर हिंड्नुपर्दो हो कसैबाट । यहाँसम्म कि आफ्नै घरजमको पनि सुर्ता गरिरहनु नपर्ने आम मान्छे उ । उ भित्रको कथा ब्याथा त उसैलाई थाहा होला तर डीको नजरमा उ शोक न सुर्ता भोक न भकारी देखिएको छ ।

' Hey D , You already here in D corner huh ? ' डेजा आईपुगी । यो बारमा ठाउँ पाएसम्म उ यहि कुनामा बस्न रुचाउँथ्यो र उसले यो कुनालाई डी कुनो भनेर नाम दिएको थियो , ' Whatchya drinking ? ' उसको पहिलो नजर डीको हातले टेबलमै समाईरहेको ड्रिंक्समा पर्यो । उसले हातमा झुण्ड्याएको ब्याग टेबलमा एकापट्टी राखी र डीलाई अँगालो हालेर भेटको हार्दिकता साटी । कुर्शीबाटै लम्किएर उसले पनि हार्दिकता जनायो र भन्यो , ' Uh ! Scotch . what are you drinking ? '

' You know how I get down, Sierra nevada so I can feel californication . ' क्यालिफोर्नियाबाट आएकि उ क्यालिफोर्नियाप्रति सकेसम्म गर्व गर्दथी ।

उसले डेजाको बियर मगायो र दिँदै भन्यो , 'What's californication ? '

' Well I have no Idea what exactly it is, but it's in a song. Have you ever heard the song Californication ?'

'No never .' छैनको भावमा डीले टाउको हल्लायो साथमा ओठपनि छैन भन्ने कुरालाई अझ प्रष्ट पार्न लेब्र्याएको थियो ।

' Oh ! Man , I love John Frusciante's song . ' उ गाउन थाली ,

' ... It's the edge of the world
And all of western civilization
The sun may rise in the east
At least it settles in the final location
It's understood that hollywood
Sells californication....'

'Hey guys what's crackin'?' प्याट आईपुइग्यो । पछिपछि मिलिसा , उसकी दिदी रचेल र रचेलकि गर्लफ्रेण्ड डायना र पाउला थिए । डेजाले पहिले प्याटलाई अँगालो हालेर भेटको हार्दिकता जनाई । डी र प्याटले हात माथी उठाएर हत्केला जुधाई त्यसपछि हात मिलाए र हात मिलाउने केहि प्रक्रिया पुरा गरेर दुबैले चुट्की बजाउँदै भेटको हार्दिकता बाँडे । मिलिसाकि दिदी र उसकी ग्रलफ्रेण्डसँग डीको दोश्रो पटकको भेट भएपनि उनिहरु अँलागो हालेरै हार्दिकता जनाउन अघि सरे ।

'लामाते डी ' , दुई हत्केला नमस्तेभावमा जोडेर नाकसामु पुर्याउँदै सबैभन्दा पछिल्तिरकि पाउलाले भेटको हार्दिकता जनाई ।

'नमस्ते !' हात जोडेरै डीले जवाफ फर्कायो । समुहका सबै हाँसे उनिहरुको हार्दिकता साट्ने नयाँ शैली देखेर ।

' What? ' उनिहरुतिर प्रश्नसुचक नजरले हेर्दै साथमा हातले भाउ देखाउंदै उसले भनि , 'It's not funny, repect their culture guys . Don't make fun .'

' We are laughing at you Paula, not at his culture . ' डेजाले थुतुनो चलाई ।

' You Know what's funny ?.... ' प्याट केहि भन्न खोज्दैथियो ।

' Your Mom's funny . ' चोथाले डेजालाई केहि निहु पाउनु हुँदैन मुख फर्काईहाली ।

प्याट एकछिन् चुपलाग्यो र बोल्यो , ' I Know My Dad's funny too .'

अर्जेन्टिनाबाट तिन चार महिनाको लागी आएकी पाउला भोली फर्कंदै थिई । उनिहरु सबै आज पाउलासँग अन्तिम रमाईलो गर्नलाई बार आएका थिए । उनिहरुको ग्रुपमा राम्रै हेलमेल भएकी मेक्सिकोकि मारिया भने भेटघाटको निम्ती घर फर्केकी हुनाले यसपटक अनुपस्थित थिई ।

' It's time for a shot, what you guys want to drink? .' मिलिसाले प्रस्ताव ल्याई । सबैको निम्ती सट नै आयो । सबैले चियर्स गरेर पाउलालाई यात्राको शुभकामना भन्दै घुट्क्याए ।

' I wanna go shake my ass .' डेजा आफ्नो स्थान छोडेर नाच्न गई । रचेलले उसकी ग्रलफ्रेण्डलाई तानेर नाच्न लगी । प्याटले पाउलालाई लिएर गयो ।

' You wanna go dance ? ' मिलिसाले डीलाई नाच्न जान भनी ।

' After a couple more of these, sure.' उसले जवाफ दियो । नाच्न खासै भाखा नल्याउनेलाई रमरम नहुञ्जेल आँगन टेडो हुन्छ भन्ने थाहा थियो उसलाई । बरु उसले चुरोट पिउन बाहिर जाने प्रस्ताव राख्यो । मिलिसा चुरोट पिउँदिनथि तर साथ मात्रै दिन निस्कि बाहिर । उनिहरु आँगनमा निर्मित सानो उद्यानको फलैँचामा बसे ।

'D , your country is really amazing, I can't wait to get there.' गफ गर्ने मेलो झिकि मिलिसाले । आउने अगष्टमा डी नेपाल फर्कंदै थियो र मिलिसा र प्याटले उ सँग नेपाल घुम्ने योजना बनाएका थिए ।

' It's going to be so fun .' उसले यति भन्यो र भुईँमा कसैले पिउँदा पिउँदै फालेको , धुँवा उडिरहेको चुरोटको ठुटोमा नजर टिकाएर चुरोटको कस तान्न थाल्यो उ ।

' I want to see Mustang and go to the base camp at Everest.' मिलिसा आफुले ईच्चाएको कुरा बताउँदैथिई , ' Hey babe , how you doin' ? long time no see .' कुनै तेस्रो ब्याक्ति दुबै हात फैलाएर मिलिसालाई अँगालोमा स्वागत गर्दै आयो । आश्चर्यचकित भावमा ठुल्ठुला आँखा पार्दै मिलिसा उठी र तिमी कहाँबाट यहाँ आईपुग्यौ ? छक्कै परें तिमीलाई यहाँ देखेर भन्दै उसको अँगालोमा बेरीई । उसको अँगालोबाट खुस्किएपछि उसले निक नाम गरेको त्यो ब्याक्तिसँग डीको परिचय गराई ।

' Hey what's up man ? ' उसले डीतर्फ हात बढायो ।

' Chillin', what's up with you?' डीले हात मिलायो । त्यसले मिलिसालाई ड्रिँक्स किनिदिने चाहना देखायो । मिलिसाले आज भैगो अरु कुनैदिन भन्दै अस्विकार गरी ।

' Where you living these days Milissa ? Can I come visit you sometime ?' मिलिसाको पछि लाग्न छोडेन उ । एकैछिन मिलिसा असमञ्जसमा परेझैं देखिई र डीसँग टाँसिँदै उसको ढाड सुम्सुम्याउँदै भनी , ' Well you have to ask D, we live together .'

निक अलि हच्किएझैं भयो , 'Oh you guys-' उसले वाक्य पुरा गर्नै परेन मिलिसाले कुरा टुङ्ग्याई , ' Yeh , we've been together a while .'

मिलिसा निकको अघिल्तिर नाटक रच्दैछे भन्ने बुझ्न डीलाई बेर लागेन । उसले खुस्रुक्क चुरोटको ठुटो भुईँमा खसाल्यो र मिलिसाको हात समातेर उठाउँदै भन्यो , ' Hey sweetheart let's bounce.'

उनिहरु उठे । निकसँग पछि हट्नुको विकल्प थिएन । उ हारेको साँढे झैं देखिन्थ्यो न मैदानबाट पुच्छर केलाएर भाग्न सक्ने न जुध्न नै अघि बढ्न सक्ने । त्यसैबला कतैबाट बत्तिएर डेजा आईपुगी , ' You guys need to quit slackin' . Shots are poured and we're waiting on you two .'

उनिहरु भित्र जानै लाग्दा डेजाले डीसँग चुरोट मागी । डीले चुरोट दिएर सल्काईदियो । डेजाले भनि , 'You guys go ahead, I'll be right back .'

डी कर्नरमा उनिहरु पुग्दा उनिहरुको कुर्शीमा अरुनै कोही बसेका थिए । टेबलमा उनिहरुकै प्रतिक्षामा रहेको सट सबैले हातमा लिएर पुन पाउलालाई यात्राको शुभकामना भन्दै घुट्क्याए ।

भिड छिचोल्दै डेजा र निक हात समातेर त्यतै आउँदैथिए । मिलिसाले डीको कानमा मुख लगेर भनी , ' Did you see them? That dude's a player.'

हात दुबैले समाएका थिए । यहाँ डेजाले निकको हात समाई भन्न अथवा निकले डेजाको हात समायो भन्न र उनिहरु प्रति धारणा बनाईहाल्न अलि नमिल्ने देखेर डीले केहि भनेन । बरु उसको दिमागमा मिलिसाको के सम्बन्ध थियो निकसँग र यसरी तिरस्कारले हेर्दैछे भन्ने कुरा खेल्न थाल्यो । सट घुट्क्याईसकेपछि सबै हातहातमा ड्रिँक्सको गिलास , बोतल बोकेर नाच्न अघिसरे । मैदानमा डल्ली डल्ली डेजा निकसँग मर्की मर्की नाच्दैथिई त्यही देखेर मिलिसाले डीलाई बाहिर जान आग्रह गरी । नाच्नु थिएन उसलाई पनि मिलिसाको पछि लाग्यो उ ।

' Hey Melissa, what's the story between you two? Why'd you lie to him?' कौतुहलता रोक्नै सकेन उसले ।

मिलिसाको कथामा निक मिलिसाको राजकुमार थियो कुनै दिन । झण्डै ३ वर्ष उनिहरु सँगै बसे तर निकले उसलाई धोका दिएर अर्की गर्ल फ्रेण्ड बनाएपछि मिलिसाले उसलाई छोडेकी थिई ।

' I Don't even know how he got here. And he still wants to come my house , Just to have me . I'm not a food ok? ' दुखेसो पोखाई उसले ।

' Well , I don't think he only ate you Mellisa . You both ate together. It takes two to tango.' डीले मिलिसाकै संस्कृती अनुरुप अलिकति ब्याख्या छाँट्यो ।

' Yah, you're probably right but what do you say to cheater ? He cheated on me .' आफ्नो पक्षको वकालत गरी मिलिसाले ।

डीलाई त्यो नचिनेको निकको पक्षमा वकालत गर्नु थिएन । भन्यो , 'You already dumped him, and your not a food and they can't enjoy you like a food unless you let 'em . '

' Hey D. Could you hook me up with a cup of your man juice ? We want to have a baby . ' मिलिसाकि दिदी रचेल र उसकी ग्रलफ्रेण्ड डायना मातेर लठारिँदै आए ।

' Stop asking every Tom, Dick, and Harry. Keep that shit on the DL Rachel ? ' मिलिसाले हकारेको स्वरमा दिदीलाई कराई । उ केही रिसाएझैं देखिन्थी । रचेलले मिलिसालाई घ्वाम्लाङ्ग अँगालो हालेर म्वाई खाँदै भनी , ' Don't get mad babe , you know we really want to have a baby .'

' Don't make a scene, you guys can adopt a baby.' रिसाएरै उसले दिदीलाई उपाय सुझाई ।

' I know ! but I want to feel a baby inside me.' टी शर्ट मास्तिर सारेर नाङ्गो भुँडी सुम्सुम्याउँदै रचेलले भनी । यिनिहरुलाई लेस्बियन पनि हुनुपर्ने अनि बच्चा पनि पाउनु पर्ने भन्दै केहिबेर मिलिसा एक्लै भुत्भुताईरही ।

डी अक्क न बक्क भएर रचेलको चर्तिकला हेरीरहेको थियो चुपचाप । पहिलो चोटी भेट्दा रचेलले आफु सियाटलमा कुनै टेलीभिजनमा कार्यक्रम चलाउँछु र न्युज पनि भन्छु भनेकि थिई । उसलाई भर्खरै नेपालमा बारमा गएर नाचेको आरोपमै कुनै महिला सञ्चार कर्मीले जागिरबाट हात धुनुपरेको सम्झना भयो । उ सोच्दै थियो कति फरक संस्कृती यिनीहरुको र हाम्रो ।

निक्कैबेर डी र मिलिसाले दुई संस्कृती बिचको अन्तरका कुरा गरे । मिलिसाले तिम्रो कल्चरका शान्त र सौम्य मान्छेहरु मनपर्छ तर तिमीहरु वर्षौं वर्ष लोग्नेस्वास्नी , प्रेमी प्रेमिकाहरु छुट्टिएर बसेको देख्दा कहाली लागेर आउँछ भनी । नेपालबारे केही चासो राख्ने भएकिले मिलिसालाई थोर बहुत जानकारी थियो नेपाली जन जीवनको बारेमा पनि । बाबुआमाले हेरिदिएर बिहे हुने प्रसँग चल्दा मिलिसाले भनी , ' That doesn't sound very cool to me. How does it work when the husband and wife don't love each other?'

सामान्यतया मागी बिहेको बारेमा सुन्ने बित्तिकै बिना प्रेम जीवन बिताउँछन पूर्वियहरु भन्ने धारणा धेरै पश्चिमाले तुरुन्तै बनाएझैं मिलिसाको पनि धारणा थियो ।

डीले सम्झाउन सकेसम्म जसरी प्रेम भएपनि तिमीहरुको बिहे नहुन सक्छ त्यसरी नै हाम्रो बिहे भैसके पछि पनि प्रेम हुन सक्छ भन्दै थप्यो , ' It's not about love according to the custom, it's about respect. But that's crazy marriage should be about love.'

वास्तवमै जुनसुकै भूगोलमा रहने समाजको पनि भावनात्मक पक्षको पाटो उस्तै हुन्छ । मानविय स्वभाव दुरुस्तै हुन्छ । फरक देखिन्छ त केवल तिनीहरुको कृयाकलापमा मात्र र त्यो पनि बाँकी समाजले कसरी हेर्छ भनेर । आँखिर एउटै समयका मान्छेहरु हुन समग्रमा नहोला संक्षिप्तमा सबैतिर उस्तै हुन्छन् । यौनको विषयमा अलि बढ्तै कढाई हुनाले आफ्नो समाजमा निम्तिएका विकृतीहरु प्रति डीलाई जति अफसोस थियो त्यती नै अफसोस यौनको विषयमा उसको समाजमा भएको बढ्तै खुकुलोपनाले निम्त्याएका विकृतीहरु प्रति मिलिसालाई पनि थियो । दुई भिन्ना भिन्नै संस्कृतीमा हुर्के बढेका भएपनि उनिहरु दुबै पति पत्नी तथा प्रेमीहरु एक आपसमा आदर गर्नलाई हैन बरु प्रेम गर्नलाई हुन् , एक आपसको प्रेमले स्वत आदर स्थापना गर्छ भन्ने कुरामा सहमत थिए ।


यस्तै कुरामा अलमलिएर उनिहरुले त्यो बारको रमझमको भन्दा धेरै त्यो उद्यानको सुन्दरताको आनन्द उठाउँदै समय बिताए । बारहरु लगभग बन्द हुने बेला भैसकेको थियो । उनिहरुको ग्रुप घर फर्कनलाई पार्किङ् लटमा भेला भएर छुट्नेबेलाको चुरोटको धुवाँ उडाउँदैथियो को को मातेको छैन , कस्ले ड्राईभ गर्ने र कस्ले कस्लाई घर छोडीदिने सल्लाह गर्दैथिए उनिहरु । रचेल र उसकी ग्रलफ्रेण्ड हामी ड्राईभ गर्न सक्छौं भनेर लागे आफ्नो गाडीतिर । मिलिसाले प्याट र पाउलालाई छोडिदिने भई । डेजा भने म ड्राईभ गर्न सक्दिंन म त आज डीसँग डीकै घर जान्छु भनेर अड्डी कस्न थाली । उ साँच्चै धेरै मातेकी पनि थिई । मिलिसाले डीलाई लौजाउ उसको घरपनि टाढा छ तर भोली छिट्टै आएर गाडी लैजानु नत्र टो गरिदिन्छ भनेर सम्झाई । उसले डेजालाई आफ्नो गाडीमा राख्यो र घर लैजान स्टार्ट गर्यो ।

'.....I wanna love you and treat you right;
I wanna love you every day and every night:
We'll be together with a roof right over our heads;
We'll share the shelter of my single bed.... ' उसको गाडीमा पहिले बजिरहेको बब मार्लीको गीत अटो प्ले भएर घन्कन थाल्यो । डेजा नशाकै सुरमा खुसीले उन्मत्त हुँदै सँगसँगै गाउँदै झुम्न थाली । मानौं उ डीको घर जान र डीको बेड सेयर गर्ने खुसीमा उम्लिरहेकि छे । डीले अर्को सिडी बज्ने गरेर प्लेयरको बटन थिच्यो ।

'...सातै समुन्द्र तरेर गयौ चिठ्ठी त लेख है
म पनि देख्छु सपनीमा तिमी मलाई देख है.........' कुन्ति मोक्तानको स्वर घन्कन थाल्यो ।

'What is this D ? I don't understand any of these words. You should put Bob Marly back on.! ' डेजाले बब मार्ली नै सुन्ने चाहना देखाई ।

'Alright.' उसले पुन बब मार्लीकै गीत बजायो । डेजा गीतकै तालमा हल्लिंदै गाउन थाली तर डीको मनमा भने कुन्ति मोक्तानको गीतले घर बनाईसकेको थियो । रातीको २ बजिसकेपछिको सुनसान प्राय सडकमा नशाले धुत भएकि केटी साथीलाई घर लैजाँदै गर्दा उ सोचमग्न भयो , ' मित्रताकै आडमा यस्लाई घर लैजाँदा के भोली यो सम्बन्ध यस्तै रहला ? के यस्ले मलाई कुन्ति मोक्तानले गाएझैं सपना देख्न देली ? '

भाईब्रेशनमा राखेको उसको सेलफोन गोजीमा गुज्गुजायो । अलिकति तन्किएर उसले सेलफोन झिक्यो ।

' के भयो आज ? किन यतिबेलासम्म फोन नगरेको ? म तपाईंको फोन कुरेर बसिरहेकी छु । ' उसले बोल्नै नभ्याई उसकी ग्रलफ्रेण्डको आवाज सुन्यो ।

'Who's that ? Melissa ? What's she up to ? ' ठुलो स्वर पारेर डेजा सोधीखोजी गर्न थाली । उसलाई फोन राख्नु न बोलिरहनु भयो । डेजाको स्वर उसकी ग्रलफ्रेण्डले सुनेर के सोच्ली ? रातको यो बेला उसँग बोलीरहेको कुनै नारी स्वरले पक्कै आतँकित बनाउँछ उसकी ग्रलफ्रेण्डलाई भन्ने भयो उसलाई । उसले सेलफोनमा डेजाको आवाज नछिरोस भनेर छल्ने प्रयत्न गर्दै भन्यो , ' मलाई अरु आधा घण्टा देउ ल ? म तिमीलाई कल ब्याक गर्छु । अहिले यौटा साथीलाई राईड दिँदैछु । उसले जवाफको प्रतिक्षा नगरी फोन राख्यो र तुरुन्तै डेजालाई उसैको घरमा पुर्याएर छोडिदिने निर्णय गरेर बिच बाटैबाट यु टर्न लियो ।

'........One Love, One Heart
Let's get together and feel all right.........' प्लेयरमा बब मार्लीकै अर्को गीत बज्न थालेको थियो । यो पल्ट डी झुम्दैथियो गीतको तालमा ।