Monday, April 28, 2008

मैले बुझेको सत्य

" साहित्य समाजको दर्पण हो " कसैले भने , हो पनि समाजमा देखिने विचित्र चित्रहरु नै शब्दको आकारमा साहित्यको ऐनामा हेर्न पाईन्छ तर यसको अर्थ साहित्यमा जे जति लेखिन्छ शत प्रतिशत सत्य तथ्य नै लेखिएको हुन्छ भनेर सोच्नु चाँही अलि गलत हुन्छ कि ? साहित्यमा वास्तविकता संग कल्पना उत्तिकै घोलिएर आएको हुन्छ । धेरैले धेरै अगाडी नै उल्लेख गरिसकेको कुरालाई मैले यहाँ उठाउंदैछु यसकारण हैन कि मेरो ब्लगमा आउनुहुनेलाई यो कुरा थाहा छैन बल्कि यसकारण कि मेरो ब्लगमा आउने मध्ये कुनै एक पात्रा , जस्को एक एक प्रतिक्रियाले मेरो जिन्दगीमा महत्व राख्छ , ले यस्लाई गलत बुझिदिएको हो कि भन्ने आशंकाले । कुनै बेला लेखाईमा कुनै खास क्षणले पारेको प्रभावहरु मात्र हुन सक्छ भने कुनै बेला कोरा कल्पनालाई मात्र पनि लेखिन सक्छ अत मेरो अनुरोध - मेरो लेखाईबाट नै मेरो सम्पुर्ण मुल्याँकन नहोस ( सतही हुन्छ त्यस्तो मुल्याँकन ) ।

शंकाले लंका हान्छ भन्ने उखान सुन्दा सामान्य लाग्ने भएपनि यो यथार्थ हो । अहिले म भित्रको आशंकाले भने मलाई कुनै लंका भस्म गराउनु छैन / गर्ने पनि छैन केवल दुई मनबिचको गलत बुझाईले निर्माण गरेको खाडल पुर्ने प्रयास मात्र हो । मनहरु बिचको दुरी सम्बन्धमा पनि मेरो भने आफ्नै धारणा छ । म ठान्छु एक मनदेखि अर्को प्रत्येक मन संगको दुरी बराबर हुन्छ । कुनै मनहरु नजिक वा टाढा हुंदैनन । कैलेकाँही हामीले कसैलाई आफ्नो मनको नजिक राखेको छौं भन्ने ठान्छौ भने कसैलाई टाढा राखेको छौं भन्ने ठान्छौं तर वास्तविकतामा त्यो सोचाईहरुको भ्रम मात्र हुन्छ । दुई मनहरु बिचको दुरी त संधै एक देखि प्रत्येक अर्को मनसंग संधै बराबर हुन्छ चाहे त्यो पराई मन होस चाहे त्यो आफन्त मन होस ।

आफन्तको मेरो परिभाषा पनि अलि अनौठो लाग्ला तपाईंलाई - म जहाँ जोसंग हुन्छु तिनीहरुनै मेरा आफन्तहरु हुन्छन । यस प्रसंगमा मलाई यौटा घट्ना याद आउंछ । न्यु मेक्सिकोमा एकजना दिदी हुनुहुन्थ्यो , स्थानिय स्कुलमा शिक्षिका - सरोज दिदी , वहाँसंग म निक्कै घुलमिल भएर बसेको थिएं । त्यसबेलामा म डुराङ्गोमा बस्थें । मैले डुराङ्गो छाड्नेबेलामा सरोज दिदीले मेरो मन नै नमिठो पार्दै भन्नुभयो " भाई जहाँ गएपनि नभुल्नु है , यो बिरानो मुलुकमा आफन्त भएर बसियो । फोन गर्दैगर्नु । मौका पर्यो भने भेट्न आउनु । " जवाफमा वहाँलाई मैले , " दिदी म जहाँ जोसंग हुन्छु तिनीहरुलाई नै आफन्त मान्छु । हिंजो अरु नै मेरा आफन्त थिए आज तपाईंहरु हुनुहुन्छ भोली अरु कोहि होलान । मैले फोन गरिंन भने दुख नमान्नु होला । " भनेको थिएं ; नभन्दै सरोज दिदीसंग पछि कहिल्यै फोनमा कुरा भएको छैन । " टाढाको देवता र नजिकको भूत " यस्ता उखानहरुको पछाडी जीवन जिउंने गहिरो कला लुकेको हुन्छ तथापि हरेकको जीवन जिउंने आ आफ्नै कला हुने कुरा त छँदैछ ।

अरुलाई जस्तै मलाई पनि म एक्लै छु जस्तो लाग्छ । स्वभाविक पनि हो एक्लो मान्छेलाई एक्लो छु जस्तो लाग्नु तर एक्लो महसुस हुनुको पनि यौटा सिमा अवश्य हुन्छ । म आफुलाई यति सम्म मात्र एक्लो ठान्छु कि म संग आफ्नो परिवार छैन । भौगलिक दुरीमा म टाढा छु परिवार संग तर भावनात्मक दुरीमा परिवार चिनेजानेका साथी संगाती साथै मेरो जीवनको विषेश महत्व राख्ने पात्रा , जस्को लागी म अहिले यो पोष्ट लेख्दैछु , सबै उत्तिकै नजिक छन । कैलेकाँही हामीलाई परिस्थितिहरुले यसरी जकडाएर राख्छ कि हामी आफन्त जनसंग भौगलिक रुपमा यौटा लामो दुरी बनाएर बाँच्न विवस हुन्छौं तर त्यो विवसता भित्र हामी अनेकौं मिठा आशाहरु र सुखद सपनाहरु पालेर बाँच्ने गर्छौं । यहि नै त हो जीवन बाँच्ने मुल मंत्र तर जब हामीभित्र त्यो मिठो आशा बाँकी रहंदैन , त्यो सुखद सपना हुंदैन तब हामी साँच्चै एक्लिन्छौं । त्यस्तो परिस्थितीमा हामी अल्मलिन्छौं यौटा यस्तो भुमरीमा फस्छौं कि हामी आफुसंग आफुलाई नै पाउंदैनौ । परिस्थितीसंग जुध्नु भनेकै त्यस्तै बेलामा हो । हामीसंग हौसला हुनुपर्छ । बर्तमानलाई आत्मसात गर्न सक्नुपर्छ । आशाहरु हाँस्न सक्नु पर्छ तब न हामी जीन्दगीलाई सरल जिउंन सक्छौं ।

यस ब्लगमा मैले यसभन्दा अगाडी २२२ वटा पोष्टहरु राखिसकेको छु , यो २२३ औं हुंदैछ । हरेकमा मैले जीवनको भोगाईहरु नै लेखें होला र हरेकमा मैले कल्पनाको कलेवर लगाउने प्रत्यन गरेंहोला । मेरो लेखाईहरुलाई बुझ्दै नबुझ्नु , सतही रुपमा बुझ्नु अथवा गहिरिएर बुझ्नु पढ्नेहरुमा भरपर्ने कुरा हुन्छ । अझै मैले जीवनमा धेरै नयाँ कुरा सिक्नु छ , देख्नु छ । जीवनलाई अझै धेरै बुझ्नु छ । मैले भोगीसके जति जीवनमा पनि अनेकौं आरोह अवरोहहरु आए । कुनैदिन म आफुलाई धिक्कार सम्झन्थें । जीवनको बाह्र पन्ध्र वर्ष स्कुल गएर पनि मैले केहि सिक्न सकेनछु जस्लाई उपयोग गरेर म जिन्दगी सरल जिउंन सकुँ भन्ने पनि लाग्थ्यो तर जब बुझें समयको पाठशालामा जिन्दगी पढ्न सकिन्छ र त्यसबाट सिकेको ज्ञानले जिन्दगी सरल जिउंन सकिन्छ भनेर त्यहाँ देखि मलाई जिन्दगीसंग गुनासो कहिल्यै भएन । मैले समयकै पाठशालामा भेटेकि पात्राले सिकाएकि थिईन जिन्दगीमा आशा बाँच्ने कसरी भनेर । ति नै पात्राबाट सिकेको पाठ कण्ठस्थ भए झैं म जिन्दगी बाँचेको छु तर भौगलिक दुरीमा म देखि टाढा कतै एक्लै भएकि सोही पात्रा आज आशाहरु हराएर एक्लो छु भन्दा दुख लागेको छ । मैले म साथमा छु भन्न मात्र सक्छु वर्तमानमा उनलाई मेरो साथको अनुभुती गराउन सक्दिंन । म उनलाई अझै आशाहरु हाँस्ने अनुरोध गर्न सक्छु उनको अधरमा म आशा फुल्न सक्दिंन ।

जिन्दगी बाँच्नु त छँदैछ अझ वर्तमानका हाँकहरुलाई सामना गर्दै बाँच्नसके हाम्रो पाईतालाले भविश्यमा शिखर टेक्ने नै छ । ..........लेख्दा लेख्दै मेरो जिन्दगीकी उक्त पात्राले म आफैंसंग रिसाएकि हुँ भनिसकिन मैले यहाँ लेख्न खोजेको मुलकुरा पनि त्यसैमा छ । म संग मेरि पात्रा रिसाईन भनेर उनलाई मनाउन म यहाँ उपदेश लेखिरहेको छैन खाली मैले बुझेको सत्य मात्र लेख्न खोजेको हुँ - " जवसम्म तिमी आफैंसंग रिसाएर बस्छौ तवसम्म अरुसंग खुशी हुन सक्दैनौ । "

Sunday, April 27, 2008

कविता : फूलको रंगलाई अब हेला नगर

फूलको रंगलाई अब हेला नगर
फूलको रंगमा जीवन फूल्छ
हेर फक्रेको हरेक फूलमा
त्याहाँ जगतको सत्य खुल्छ
रातो गुलाब संधै रगतको पर्याय हैन
यो प्रेमको पनि प्रतिक हो
विहानीको लाली रक्तिम हुन्छ
त्यसैले रातको कालो धुन्छ
हेर विहानीले रक्तिम लाली नछरी
उज्यालो दिन आउंछ कसरी ?
चमेली , वेली , सयपत्री
गोदावरी , मखमली यहीं
फूल्नुपर्छ संगै संगै सबै
लालुपाते , गुलाब र जाहीजुही
रातो निलो सेतो पंहेलो
सबै रंगहरुले नेपाल सजाउन
फक्रिएर फूलझैं नेपाली मनले
संधै शान्तीको धुन बजाउन
फूलको रंगलाई अब हेला नगर
फूलले कठोर मनलाई पनि छुन्छ
गुलाब संधै रातो मात्र हुंदैन
हेर त गुलाब सेतो पनि हुन्छ ।

Thursday, April 24, 2008

कविता : जिन्दगी बाँच्न किन सकिंदैन ?

सत्य - सत्य
मैले कहिल्यै घोत्लिएर
जिन्दगीलाई केलाईंन
जिन्दगी दुख्दा रोईदिएं एकैछिन
जिन्दगी फुल्दा हाँसीदिएं एकैछिन
प्रत्येक पल्ट मैले देख्दा
जिन्दगी आफैं सरल रेखामा थियो
मेरो पनि तिम्रो पनि
आफैं निर्माण गरेर बिन्दुहरु
पटक पटक रोकेर पाईलाहरु
तिमीले हात उठाएको देखें
भन्यौ अब जिन्दगी बाँच्न सकिन्न भो
घुर्की पनि जिन्दगीसंग लगाईन्छ र ?
त्यती बिघ्न मात्राहरु छाडेर
वाक्य नटुङ्ग्याई पुर्ण विराम कोरेर
तिमीले घुँडा टेकेको देखें
भन्यौ अब संतोष हाँस्न सकिन्न भो
हार आफ्नै जिन्दगीसंग खाईन्छ र ?
एकैछिन घोत्लिएर
तिमीले चिनाएको सगरमाथा
तिम्रै छातीमा खोजीहेरें
अहँ छैन
तिम्रो छातीभित्र सगरमाथा कतै छैन
कन्काईले काटेर हरिया खेतहरु
रतुवाले पुरेर मलिला फाँटहरु
कहिले देखि उजाड बगर पाल्यौ छातीभित्र ?
तिमीले चिनाएको सगरमाथा बोकेर छातीभित्र
म अझै पनि कञ्चनजंघाहरु
आरोहण गर्दैछु जिन्दगीमा
जिन्दगी कुनै शिशीको बिर्को भैदिए
अरुले नै लेखिदिने थिए
समस्याहरु खोल्न दाँया घुमाउनुहोस
बन्द पत्र पनि त हैन जिन्दगी
जस्लाई पढ्न लेखिएको होस
यहाँबाट च्यात्नुहोस
यस्तै सरल सत्यहरु
खै त बुझेको जिन्दगीमा ?
तिम्रो छातीमा सगरमाथा फेरी उठ्नुपर्छ
त्यही सगरमाथा छामेर छातीभित्र
सल्बलाउनु पर्छ तिमी
चल्मलाउनु पर्छ तिमी
जिन्दगी बाँच्न किन सकिंदैन ?

Sunday, April 13, 2008

नयाँ वर्षको शुभकामना : तिन कविता सहित

नयाँ वर्ष २०६५ को शुभ उपलक्ष्यमा " मेरो साहित्य संसार र विविध " मेरो ब्लगमा आउनुहुने सम्पुर्ण मित्रजनमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । यहि नयाँ वर्षको शुभ साईतबाट नेपाल यौटा अँध्यारो युग चिरेर नयाँ सुनौलो युगमा प्रेवेश गरेकोमा नेपाल , नेपालीहरु र ति सपुतहरु , जस्ले देशलाई नयाँ युगमा प्रेवेश गराए , लाई पनि नयाँ वर्षको मंगलमय शुभकामना ब्यक्त गर्दछु । आशा गरौं नयाँ नेपाल दिगो शान्तीको दिप प्रज्वल्लित गर्दै सामाजिक सद्भावका साथ समुन्नती तर्फ लम्कने छ ।
यसपटक म नयाँ वर्षको ३ वटा कविताहरु राख्दैछु । पहिलो यसैपाली भर्खरै लेखेको र बाँकी दुईवटा केहि वर्ष अगाडी लेखेका मेरा कविताहरुले तिन अलग समयमा मैले नयाँ वर्षलाई कसरी पाएँ भन्ने जनाउंछ ।

नयाँ वर्ष
झुल्को नयाँ घामको लिई आयो नयाँ वर्ष
जुर्मुरायो जग यो सारा छायो प्रचण्ड हर्ष ।

बनाई हिमाल तराई नयाँ पहाड खोँच नयाँ
आयो नयाँ वर्ष लिई विचार , सोच नयाँ ।

फटाई तुँवालो , बादल कालो उज्यालो घेरेर आयो
आयो नयाँ वर्ष देशको अनुहार फेरेर आयो ।

फुलाएर अधर अधर अनमोल त्यो हर्ष
उल्टाएर युग अहो ! आयो लौ नयाँ वर्ष ।

हेर नयाँ वर्षको उज्यालो अझै बढ्दै आयो
साँच्चै नयाँ वर्ष शान्तीको मंत्र पढ्दै आयो ।
२०६५ अमेरिकाबाट

नयाँ वर्ष
नयाँ वर्ष !
प्रत्येक साल यसै गरी आउने गर्छ
निर्धा झुपडीको शिरमाथी
खन्याएर आतंकको मुशलधारे वर्षा
भिषण आँधी तुफानले पेलेर
संधै भन्दा धेरै आतंक ल्याउंछ ।

नयाँ वर्ष !
प्रत्येक साल यसै गरी आउने गर्छ
सरल ह्र्दयको कान्ला माथी
निमोठेर पलाउंदै रहेको नव पालुवा
बेजोड सुख्खा खडेरीले घेरेर
संधै भन्दा धेरै त्रास ल्याउंछ ।

नयाँ वर्ष !
प्रत्येक साल यसै गरी आउने गर्छ
सोझा जिन्दगीको परिवेशमाथी
मडारिएर संधै अनिष्टको बादल
भयानक कठोर चट्याङ्गले चिरेर
संधै भन्दा धेरै संत्रास ल्याउंछ ।
२०५८ बिराटनगरबाट

नयाँ वर्ष
पोहोर झैं यसपाली फेरी
मेरो आँगनमा नयाँ वर्ष आयो
ह्रदयमा बल्झिएको घाउ
छोपेर नयाँ पालुवाले
ओईलाएको फूलबाट मुस्कान झिकेर
उहि सुर्यको नयाँ घाम संगै
हर्ष , उल्लास र केहि खुशी ल्यायो ।
भोगेको जिन्दगीले कुल्चिएर कति
छाडेका दिनहरुले तर्साएर कति
बिताएको समयले डसेर कति
विदग्ध ह्रदय बोकेर हाँसेको
निरिह मेरो रोगी पाईलाहरुमा
अलिकति साहस थपेर
मनोहर पुष्पगुच्छा अर्पिंदै
पोहोर झैं यसपाली फेरी
मेरो आँगनमा नयाँ वर्ष आयो ।
पिरतीमा पग्लिएर मुटु चुहेकाहरुलाई
जिन्दगीमा अल्झिएर बाटो भुलेकाहरुलाई
पहाड झैं अटल उभिने साहस भनेर
अविरल लक्ष्यसम्म हिंड्ने गोरेटो बनेर
नयाँ वर्ष आए सम्म संधै संधै
मेरो ह्र्दयबाट तिमीलाई
शुभ कामना छ
शुभ स्वागत छ ।
२०४९ गौरादह , झापाबाट

Thursday, April 10, 2008

गीत : अपराध नगर

विश्वास गराएर घात नगर
म माथी आज यो अपराध नगर
अझैपनि म तिम्रो योग्य छु भने
जिन्दगानी मेरो बर्बाद नगर ।

बहुलाएर म धताएर हिंड्दा
नशाले सडक तताएर हिंड्दा
सम्हालेर भन्यौ अझै तल नझर
हामी हुन सक्छौं एक अर्काको भर
म माथी आज यो अपराध नगर
अझैपनि म तिम्रो योग्य छु भने
जिन्दगानी मेरो बर्बाद नगर ।


नयाँ धुन मिठो रचेर सुनायौ
मेरो जिन्दगीको गीत गुन्गुनायौ
जगायौ म भित्र अनौठो रहर
पाएं तिमीलाई झनै वर वर
म माथी आज यो अपराध नगर
अझैपनि म तिम्रो योग्य छु भने
जिन्दगानी मेरो बर्बाद नगर ।

Wednesday, April 09, 2008

सलाम छ मेरो नयाँ नेपाललाई

हिंजोराती अबेर सम्म ईन्टरनेटमा नेपालका समाचारहरु खोजीखोजी हेरेर बसेको थिएं । हिंजैराती मैले सोचेको थिएं भोली बिहान सबेरै उठेर उदाउंदै गरेको सुर्यलाई भेट्छु र उसलाई अनुरोध गर्छु कि भोली तिमी मेरो देशमा झुल्किंदा नयाँ विहानी लिएर झुल्किनु । दशकौंदेखि हामी नेपालीहरुले देखेको सपना पुरागर्ने प्रकाश छरेर झुल्किनु । अझ मैले बिहानीको सुर्य हेरेर आज यौटा कविता लेख्ने पनि प्रण गरेको थिएं तर जब म उठें हिंजो रातीको मेरो सोच सपना झैं भयो । बाहिर पानी परिरहेको रहेछ । सुर्यलाई तुंवालोले छेकिदिएछ । एकछिन सम्म मन साह्रै अमिलो भयो । एकदुई दिन अघि यौटा कविता लेखेको थिएं भोलीको उज्यालो भनेर -

यौटा साँझले घाम डुबाउंछ
अन्धकारलाई निम्तो दिई
कालरात्री डाक्छ
ए ! विचलित मनहरु
हरेस नखाउ
घाम त भोली झुल्कने छ
भलै तुँवालोले सुर्य छलोस
उज्यालो छेक्न सक्ने छैन
त्यो उज्यालो तिम्रो हुनेछ
मेरो अनि उसको हुनेछ
विश्वास गर ए ! मनहरु
भोलीको उज्यालो हाम्रो हुनेछ ।


मेरो आजको दिन त्यस कवितामा लेखेझैं तुंवालोले सुर्य छलिएर सुरुभयो । बिहानभरीको काम सिध्याएर मैले अहिले यो लेखिरहंदा नेपालमा मतदान शुरुहुन आधाघण्टा भन्दा कम समय छ । आजको दिनले कोर्ने मेरो भोलीको नेपालको चित्र आजको मेरो दिनझैं झरी परेको नहोस यस्तै कामना गर्छु । निश्चय नै नेपालमा हामी नेपालीले आशा गरेझैं नयाँ बिहानको शुरुवात भै सकेको छ । कुनैपनि तुवाँलोले अब हाम्रो उज्यालो छेक्न सक्ने छैन तर पनि मन खिन्न छ । आजै सुर्यले बेईमान गर्यो । संधै मलाई उठाउने घाम मेरो कोठामा छिरेन । आज सुर्यलाई भेट्ने इच्छा थियो तर दिनभरी नै देखा परेन । आज सुर्य देखेको भए म कस्तो कविता लेख्थें हुँला सोचिरहेछु अहिले तर सुर्य नदेखेको रन्कोमा अहिले सम्म कविता लेख्ने जाँगर आएन अब लेखेंभने पनि मेरो कवितामा सुर्यसंग गुनासो हुन्छ होला त्यसैले बरु आज म कविता नै लेख्दिन । कम से कम आज म सुर्यसंग गुनासो गर्न चाहन्न ।

मैले उमेशजीको माई संसार डट कममा उपलब्ध मतदान केन्द्रमा नयाँ नेपाललाई गणतन्त्रको पक्षमा मतदान पनि गरिसकें भलै त्यसको औचित्य नहोस तर मनलाई सन्तोष भयो । लेख्दा लेख्दै अहिले यहाँ दिउंसोको ३.१४ भै सक्यो भने नेपालमा बिहानको ७ बजिसक्यो । मतदानको क्रम शुरु भयो । सलाम छ मेरो नयाँ नेपाललाई ।

(यो पोष्ट साँझ ७ १४ मा प्रकाशित गरेको देखिएको छ त्यो कोलोराडोको समय हो । म अहिले हवाईको माउई टापुमा भएकोले अहिले यहाँ दिउंसो ३ १४ भएको छ । )

Tuesday, April 08, 2008

कविता : जिन्दगी संग

ए ! जिन्दगी ,
कम् से कम् एकपल्ट त
तँ मैले सोचे झैं भईदे
धेरै भयो तैंले
मेरो छातीमा घाउ लगाएको
बरु म आफैं
कोपरेर छाती
बनाउने छु गहिरो घाउ
तर अब सहन्न
यो छातीमा पराया घाउ
पछ्याएर तँलाई
यो म कहाँ आईपुगें
आफ्नाहरु पछाडी नै छुटेछन
अगाडी कुनै गन्तब्य छैन
धेरै भयो लोभिएर
जिन्दगीको नाउंमा दोहोरिंदै
एउटै नियति बाँचेको
बरु म आफैं
कोरेर प्रतिलिपि जिन्दगीको
फर्किन्छु छुटेका साथहरु खोज्न
ए ! जिन्दगी ,
लैजा मेरो एकप्रति जिन्दगी
तर छाडिदे मलाई
स्वतन्त्र बाँच्न ।

Sunday, April 06, 2008

कविता : भोलीको उज्यालो

यौटा साँझले घाम डुबाउंछ
अन्धकारलाई निम्तो दिई
कालरात्री डाक्छ
ए ! विचलित मनहरु
हरेस नखाउ
घाम त भोली झुल्कने छ
भलै तुँवालोले सुर्य छलोस
उज्यालो छेक्न सक्ने छैन
त्यो उज्यालो तिम्रो हुनेछ
मेरो अनि उसको हुनेछ
विश्वास गर ए ! मनहरु
भोलीको उज्यालो हाम्रो हुनेछ ।

Saturday, April 05, 2008

आफ्नै कथाको बारेमा

भर्खरै मैले अप्रिलफुल शिर्षकमा यौटा कथा लेखेर सिध्याएं । लेख्न सुरु गर्दा म संग यो कथा नै थिएन । अप्रिल एक तारिखको दिन बिहान ११ बजे तिर मैले आफ्नो ब्लगमा शिर्षक राखेर कथा हो भन्ने जानकारी गराएर खाली छाडें । एक हिसाबले लाटकोसेरोले अप्रिलफुल मनाए झैं थियो त्यो । मेरो ब्लग त्यती धेरैले पढ्दैनन , केहि नियमित मेरो ब्लगका पाठकहरुले भने मेरो कविता , गीतहरु मनपराएर मलाई अझै लेख्ने प्रेरणा दिन्छन । उक्त खाली पोष्टमा भने यौटा कमेण्ट थियो कथा लेख्न बाँकी हो ? भनेर । उक्त कमेण्ट लेख्ने अज्ञात ब्याक्तीले मेरो यो कथा पढ्न फेरी मेरो ब्लगमा प्रवेश गरेको छैन होला सायद । त्यसो त साह्रै अल्छी गर्दै मैले उक्त कथा चार तारिखमा सकें र नेपाली पोष्टमा प्रेषण गरें । ५ तारिखमा नेपाली पोष्टमा प्रकाशित पनि भएको छ तर त्यहाँ कथाको शिर्षक नै गल्ती भएकोमा आफैं दुखी छु । मेरो कथा स्तरिय नहोला तर कथा भने पक्कै हो भन्ने कुरामा म ढुक्क छु ।

उक्त कथा लेखुञ्जेल सम्म मलाई केराबारी , जोरथाङ्ग , कर्मटारतिर बरालिएको सम्झना आईरहयो । त्यतातिरको बोलीचालीलाई मैले कथामा आकर्षण बनाउन खोजेको छु र त्यहाँको सजिलै पोईला जाने चलन प्रति कथामा ब्यंग गर्न पनि खोजेको छु । म सफल भएं कि भईनं त्यो त तपाईंले भन्न सक्नुहुन्छ ।

आज ५ तारिख । हिंजै राती सुत्ने बेलामा यौटा अज्ञात कल आयो । फोन उठाएं , फोन गर्ने काली थिईन । के छ कसो छ भनेर सञ्चो बिसञ्चो सोधासोध गरेपछि उनले मेरो कथामा अश्लिलता भएको कमेण्ट गरिन । कथाले सुरुवातमा त्यस्तो छनक दिने भएपनि अपाच्य अश्लिल छैन भनेर तर्क गरें मैले । उनले अगाडी केहि भनिनन् । कथा राम्रै छ - उनको निचोड यस्तो थियो ।

हाम्रो समाजमा हामी व्यावहारमा यो भन्दा अझ अश्लिलतालाई पचाईरहेका हुन्छौं । साहित्यमा किन त्यही कुरालाई अपच भएजस्तो लाग्ने होला ? खुल्दुली भईरहयो , राती अबेर सम्म सोचें । कथामा एकदुई कुराहरु थपघट गरौं कि जस्तो पनि लाग्यो तर फेरी यसो सोचें हैन मैले जुन परिवेश कथामा लेख्न खोजेको छु अलिकति थपघट गरें भने मेरो कथाको मजा नै हराउंछ नि । त्यसैले केहि गरिनं ।

Tuesday, April 01, 2008

कथा : अप्रिलफुल

" आपुई ! यो दाजु त कस्तो छाडा हौ । वरिपरी कोही छ कि छैन भन्ने छ्यानविचार नै नगरी मुतेको हेरन । " गान्धी आश्रमनेरको ओरालो झर्दै गर्दा रेवतीले यति लामो जिब्रो काढ्दै भनि । प्लास्टिकको रातो बाटा र धुने लुगाको पोको बोकेर उ राङ्बाङ खोलामा लुगाधुन झर्दै थिई ।

" हैन यो बैनि के भा'को ? हेर्नु नहुने ठाँउतिर तिमिलाई को'ले हेर्नु भनेको थ्यो त ? " अलि मुन्तिर ढुँगाको कापमा छलिएर पिसाब गर्दैगरेको देवकुमार झस्किंदै बोल्यो । छलिँदा छलिँदै पनि उस्लाई रेवतीले देखेकि थिई तर रेवतीले देखुन्जेलसम्म उसले पिसाब गरेर सकिसकेको थियो । भन्नलाई गान्धी आश्रम भनेपनि अहिले त्यहाँनेर आश्रमको अवषेश पनि बाँकी थिएन । झण्डै सय डेढसय मिटर जति माथी डिलमा पहिले कुनै समयमा गान्धीको नाममा आश्रम थियो रे त्याँहा । अहिले भने त्यहाँनेरबाट गोरेटो हुंदै ओरालो झरेर राङ्बाङखोलामा गाउँलेहरु लुगाधुन र नुहाउन आउने गर्छन । कसो कसो कुईनेटो परेर निलो गहिरो रह परेको छ त्याहाँनेर । पहिले पहिले त्यहि रहमा एकदुईजना पौडी खेल्दा डुबेर मरेका पनि थिए रे । केटाकेटीहरु त्यता गएभने गाउँलेहरु त्यता जानुहुंदैन भनेर खै गर्छन । अलि पाका उमेरकाहरु पनि मान्छे डुबेर मरेको ठाउँ भनेर हम्मेसी त्यतातिर जाँदैनन त्यसैले गान्धी आश्रमको रह तन्नेरी तरुनीहरु नुहाउन लुगाधुन जाने ठाउँ भएको छ । तरुनी तन्नेरीहरु मात्रै जाने ठाउँमा छेड्खानी र हँसीमजाक त त्यसै हुने नै भयो । त्यै भएर रेवतीले देवकुमारलाई जिस्काएकि थिई नत्रभने यस्ता दृश्यहरु देख्दा रेवती चाल नपाएझैं हुन्थी होला । उसो त बिसेबाईसेकी रेवती अलि चञ्चले परेकी , मौका पर्दा रत्यौली नै खेल्ने स्वभावकी थिई ।

चैत्रको बेला गर्मी धपधपी नै बल्नेगरी थियो । रेवतीले लुगाको पोको पानी नजिकको यौटा ढुँगामा फ्याँकी र राङ्बाङको चिसो पानीमा नाङ्गो खुट्टा चोबलेर ढुँगामाथी बस्दै भनि " ए देउकुमार दाजु खै लेउ लेउ तिम्रो मिठो खैनी खाउँ ? "

"ला हो बैनि , मेरोमा त खैनि टाक्टुक् तु'रो नि हौ । कम्ती थिएछ , ऐले भक्करै तुराएं नि । आबो किन्नु पनि कैले जानु हो था'छैन ।" देवकुमारले सुगन्धित गोल्डेन खैनीको खाली बट्टा ढुँगामा ट्याक् ट्याक् पार्दै भन्यो र बग्दो पानीतिर हुर्याईदियो ।

" छि हौ , तिम्रो मिठो खैनी खाउँ भनेको त................ " रेवती बोल्दा बोल्दै बिचैमा अड्कीएर आफ्नो बन्दर और ढोलक छाप माडुवा खैनी निकालेर माड्न थाली । रेवतीले खैनी माड्न लागेको देखेर मलाई पनि माड है बैनी भन्दै देवकुमार आफ्नो लुगा धुन थाल्यो । मौका पायो कि ईत्रीनु पर्ने रेवतीले यो मौका किन चुकाउँथी , भनि " तिमीलाई कसरी माड्नु हौ दाजु मैले ? तिमीले पो माड्नु पर्ने मलाई । "

" कति सारो छिल्लिनु जानेको हौ बैनी तिमीले ? मेरोलागी पनि खैनी माड पो भनेको । " देवकुमारले ईत्रीने मूड नभए झैं गर्यो । रेवती खित्खिताएर हाँस्न थाली । धोएको लुगा बग्दो पानीमा पखाल्दै देवकुमारले रेवतीलाई पुलुक्क हेर्यो । रेवती देवकुमारलाई नै हेर्दै हाँस्दैथिई । छेड्खानीको खेलमा देवकुमारले सायद आफुलाई हारेको महसुस गर्यो त्यसैले पखालेको लुगा निचोर्दै भन्यो , " मन त परिराखेको छ माड्नुलाई मलाई पनि , तर जोईतोई बेला माड्नु नमिल्ने । " अघि बढेर उ लुगा सुकाउन बगरतिर गयो । बगरका ठुला ठुला ढुँगाहरु आगो बालेर तताएझैं गरी तातिएका थिए । उसले यौटा च्याप्टो ढुँगामा लुगा सुकाएर अर्को सानो ढुँगाले एकछेउमा थिच्यो हावाले नउडाओस भनेर ।

" ओ दाजु लाउ है खैनी खाउ । " पछिल्तिरबाट रेवती कराई ।

दुबैजना ओठमा खैनी च्यापेर लुगा धुनथाले ।

" तिम्रो धुनु कति छ हौ दाजु मलाई यो ढुँगामा त अप्ठेरो भयो ।" रेवतीले देवकुमारले लुगा धुँदै गरेको ढुँगामा आफ्नो लुगा धुने ईच्छा देखाई । " ए ! हो र बैनी आउन त यसैमा धुनु । मैले त तुराएं आबो । " देवकुमारले सजिलो ढुँगा रेवतीलाई छाडीदिंदै भन्यो ।

".....रिटिङ रिटिङ नबजाउ बिनायो
बिनायोले मन मेरो छिनायो
ऐयाया आक्काका सान्नानी........"
पारीपट्टी लिखेभिरमा कर्मटारको घिषिङ बाजे जोरथाङ्ग बजारमा दुध बेचेर लेघ्रो तान्दै गीत गाउंदै फर्कंदै थियो । हरेक दिन बिहान अध्याँरैमा दुध बोकेर कर्मटार देखि जोरथाङ्ग सम्म आईपुग्ने घिषिङ बाजे फर्कंदा भने संधै यसरी नै दुई तिन बजे टन्न रक्सीले मातेर फर्कन्छ । रक्सीले मातेपनि नमाते पनि गीत गाउन चाँही उसले छाडेको हुंदैन ।

" उ आयो घिषिङ बाजे । कुनदिन यो बाजे तेई भिरबाट खंदारिएर मोर्छ होला । खानु पनि कम्ती रक्सी खाँदैन अन्त हो । " रेवतीले घिषिङ बुढाको रक्सी खाने आदतको आलोचना गरी ।

" खानु देउ न हौ अन्त , बिचरा बाजे रक्सी खाएरै तेत्रो सम्पती तुरायो । अबो बुढेशकालमा के पो गर्नु छ र उसलाई । ईच्छैले मरोस न रक्सी खाएरै । " देवकुमारले पनि आफ्नो मत जाहेर गर्यो । निक्कैबेर उनिहरु रक्सीकै विषयमा केन्द्रित भएर गफिए । टोलभरी सबै लोग्नेमान्छेले रक्सी पिउने गरेको कुरा आफुलाई चित्त नबुझेको भन्दै रेवतीले भनी , " गाउँको सप्पै लोक्नेमान्छेले रक्सी पिउंछ । मलाइ त राम्रै लाग्दैन ।"

" सप्पै लोक्नेमन्छेले चैं पिउन्दैन ल , तिमीले नपिउनेहरु चैं देखेन कि के हो ? " देवकुमारले प्रतिवाद गर्यो ।

" हो हुनु त " रेवतीले स्विकार्दै भनी , " नखानेहरु पनि नभा'को हैन । तिमीले नै खाँदैन । साँची तिमी कसरी रक्सी नखाने भयो हो दाजु ? "

" खै आबो कसरी भयो भन्ने हो अन्त , खानु मन लाग्दैन । " सरल जवाफ दियो देवकुमारले । एकछिन दुबैजना मौन रहे । उनिहरु बिचको मौनतालाई एकनास संग सुसाउंदै बगेको खोलाले चिरिरहेको थियो । पारी सिक्किम पट्टीको जंगलमा कसैले सुकेको रुखमा बञ्चरोले काट्दै गरेको आवाज पनि ट्वाक - ट्वाक ट्वाक -ट्वाक गरेर प्रतिध्वनित हुंदै दोहोरिंदै सुनिदैथ्यो । एकाएक रेवतीले नै मौनतालाई तोड्दै सोधी , " अन्त तिमिले बिहे कैले गर्छौ नि दाजु ? "

देवकुमारले जवाफ दिएन । एक त उ संग यो प्रश्नको जवाफ थिएन अर्को उसले कम्तीमा रेवतीले यो प्रश्न सोध्ली भनेर सोचेकै थिएन ।

" तिमीलाई अझै अनुको माया लाग्छ दाजु ? " रेवतीले सोध्न छोडिन ।

" लाग्दैन मलाई तेस्को माया किन लाग्नु हो अन्त । तेस्तो छाडेर जाने बैगुनीको पनि को'ले माया गर्छ ? " नबोली धर पाएन उसले , " देवकुमार पो त हो म देवदाश हैन नि तेस्ताहर'को माया गर्न । " वास्तवमै देवकुमार जिन्दगीलाई सरल जिउंन मनपराउने मान्छे थियो । जिन्दगीमा जे भयो त्यो भयो , जे भएन त्यो भएन । भएको कुरालाई र नभएको कुरालाई किन भयो र किन भएन भन्दै जिन्दगी बक्र बनाउन चाहदैनथ्यो उ ।

" तेसो भए बिहे चैं किन नगर्ने त हौ अन्त ? " रेवती फेरी फर्किएर उहि प्रश्नमा पुगी । " कैले गर्छौ त बिहे ? "

" गर्नु पाए ऐले गर्थें नि , तेसै बिहे हुन्छ ? बच्चाले भाँडाकुटी खेलेको जस्तो हो कि के हो नि बिहे ? को'लाई गर्नु बिहे ? तिमीले गर्छौ बिहे म संग ? " एक झट्का आक्रोस पोख्यो उसले । रेवती गंभिर भएर लुगा धुँदै गरेको हातपनि चलाउन छाडेर एकटकले देवकुमारको मुखमा हेर्न थाली ।

" आबो लाटाले त पापा हेर्छ रे ट्वाल्ल परेर , तिमीले चैं के हेरेको नि लाटीले जस्तो ट्वाल्ल मेरो मुखमा ? " अली संयमित भएर देवकुमारले भन्यो । कता कता उस्लाई आफुले रेवतीलाई बिझाएंकि जस्तो महसुस भयो ।

" हेरेको नि अन्त , तिमी जस्तो सिधा मान्छे पाए त गर्थें नि बिहे भनेर । " रेवतीले आफ्नो ईच्छा ब्यक्त गरी ।

एकछिन देवकुमार असमञ्जसमा पर्यो र भन्यो , " गर्ने हो भने आजु नै भागौ न त ? "

" साँच्ची हो दाजु ? म त तयार तर कहाँ जाने ? " रेवतीले भागेर जाने उपयुक्त स्थान खोज्दै भनी ।

" जाउँ न हो अन्त नेपाल । जानुलाई ठाउँको कमी छ र ? " देवकुमारले उपाय सुझायो ।

" नाईं नाईं नेपाल त नजाउँ हो दाजु , नेपालमा त माओवादीले मान्छे खेदाउदैछ । हामीलाई मार्छ मात्तै । " बाधा देखाई रेवतीले ।

" कति त मान्छेहरु आउनु जानु गर्दै नै छ नि , को'ले भनेर मार्छ ? नेपालमा नि पछ्छिममा पो छ त हौ माओवादी । " देवकुमारले बाधा नभएको जिकीर गर्यो ।

" अँ होला , ऐले पुर्बमा नि भुटाङ्गेहरु सप्पै माओवादीमा लागेको छ रे । " रेवतीले अझै आशंका ब्यक्त गरी ।

देवकुमारले एकैछिन गम खाएर बिकल्प देखायो , " तेसोभए कदमतोला हिंड न हौ अन्त । मेरो फुपु छ त्याँ । "

रेवतीले स्विकार गरी । उनिहरुको सल्लाह अनुशार आज दिउंसै रेवतीले पोको पन्तुरो कसेर पारी जोरथाङ्गमा सिमाको आमाकोमा गएर बस्ने , साँझ देवकुमार पनि त्यहीं आएर बस्ने र भोली बिहान सबेरै एसएनटी बस चढेर सिलिगुडी झर्ने निधो भयो । देवकुमार जस्तो खासाको लोग्ने पाउने भएर रेवती फुरुङ्ग भई । देवकुमारले पहिले रेवतीकै मिल्ने साथी अनुलाई मनपराएको थियो तर अनु देवकुमारलाई धोका दिएर नाम्चीतिरको अर्कै केटासंग भागेकी थिई । सिमलकै भुवाझैं हलुंगो भएको थियो रेवतीको शरिर । हतार हतार लुगा धुन , नुहाउन सकेर उ घर आई र पोईला जाने तयारीमा जुटी । उसको गाउँघरको चलन नै भागी बिहे गर्ने भएकोले उसले भेटेजती सबैलाई कसैलाई नभन्नु है भन्दै आफु देवकुमार संग भाग्न ठिक परेको रहस्य खोल्दै गई ।

जोरथाङ्ग बजारमा सिमाको आमा भट्टी चलाएर बसेकी थिईन । लोग्ने बितेपछि एक्ली उसले भट्टी चलाएरै दुई छोराछोरी पाल्थीन । रेवती उज्यालैमा त्याँहा पुगी र सिमाको आमालाई सबै कुरा सुनाएर दंगदास भएर बसी । यता गाउँमा भने रात पर्न नपाउंदै रेवती पोईला हिंडेको हल्ला फैलियो ।

" बुढीभा'को एक्लो बोजुलाई छाडेर त्यो रेवती कसरी बुढामा गा'को हौ ? " गाउँलेहरुलाई रेवतीको बुढीआमाको चिन्ता भयो ।

" फेरी जानु पनि देउकुमार संग पो गा'को रे । कहिं जानु पर्दैन थ्यो नि , हामी यैं बिहे मानिदिन्थ्यौं नि । " गाउँलेहरु एकप्रकारले स्विकार्दै थिए उनिहरुको जोडीलाई ।

" जानु चाहीँ काँ गो'को रैछ उनिरु ? " कोही सोध्दैथिए ।

" खै नेपाल गोयो होला नि ? देउकुमारको आफ्नो मान्छे छ नेपालमा । " कोही अन्दाजमा जवाफ दिंदैथिए । रात अबेर सम्म उनिहरुकै बारेमा चर्चा चल्यो ।

भोलीपल्ट बिहान आठबजेतिर काँधमा हातेचियाको बोरा बोकेर देवकुमार घरबाट निस्कियो । कमानतिरबाट सस्तोमा हातेचिया किनेर संधै जोरथाङ्ग हाटमा लगेर बेच्थ्यो उ । झुरुम्म परेको बस्तीमा देवकुमारको घर अगाडी सुनार काँईलाको घर थियो । सबैभन्दा पहिले देवकुमारलाई सुनार काँईलाले देख्यो र अचम्म मान्दै ठुल्ठुलो स्वरमा करायो , " हैन ए देउकुमार , तिमिले त रेवतीलाई हिंजै राती भगायो भनेर हल्ला थियो त ? खोई तिमी त हाट पो जाँदैछौ त ? "

सुनार काँईलाको ठुल्ठुलो स्वरले अरु अरु मान्छेहरु पनि जम्मा भए । सबैले देवकुमारमाई सोध्न थाले के हो भनेर ।

" हैन हो अन्त हिंजो एक तारिख भनेर कोसैलाई था छैन कि के हो ? मोईले त अप्रिलफुल पो बनाको त ।" देवकुमार मुसुमुसु हाँस्दै हाटतिर लाग्यो ।

नेपालीपोष्टमा प्रकाशित यो कथा त्याँहा केहि त्रुटिसहित छापिएकोमा आफैं खिन्न छु किनभने त्यो आफ्नै गल्ती थियो ।