Wednesday, February 13, 2008

गीत : आँखामा नेपाल

हृदयमा छ चन्द्र सुर्य नेपाल आँखामा
नेपालकै गीत गाउँछु लैबरी भाखामा ।

झुल्छु म त धान खेतमा फूल्छु सुनाखरीमा
डुल्छु म त फाँटैभरी बनमाराको घारीमा
भञ्ज्याङ अनि देउरालीमा सुस्केरा म फेर्छु
टाकुरामा पुगी मेरै प्यारो नेपाल हेर्छु ।

सारंगीमा मनका सबै पिर रेटीदिन्छु
मादलु र डम्फू बजाई थकाई मेटीदिन्छु
मुरलीमा नेपालको नयाँ धून बजाउंछु
जानेजति कला झिकी नेपाल सजाउंछु ।

मेचि काली एउटै घर हुन्न कोही पराई
भिजाउंछु नदी भई हिमाल पहाड तराई
अक्षर तिन लेख्नुपरे मेरै नेपाल लेख्छु म
सपनीमा देख्नु परे मेरै नेपाल देख्छु म ।

Sunday, February 10, 2008

कविता : फागुन

फागुन आयो प्रकृतिमा रंग नौलो छरी
रुख विरुवा सजाउंदै मुना थरी थरी
घामको झुल्को न्यानो पर्दा चिर्बिराए चरी
भँवरा चुस्छ वसन्तको रस भुँन् भुँन् गरी
ओठ खोल्यो वसन्तले कोपिला फुटे कति
पोल्टाभरी वसन्तको खुशी कति कति
आईन कोईली बगैंचामा फर्किएर फेरी
गाईन कूहू - कूहू मिठो हरियाली हेरी
बहर दाए ठुल्दाजैले धुलो पार्दै बारी
भाउजैले डोकोभरी ल्याईन मलको भारी
दाजै भाउजै पौरखी ति हात चलाउंछन
फागुनमा मकै रोपी जीवन फलाउंछन
साँवा अक्षर चिन्छ भुण्टे फुटाई तोते बोली
असल मान्छे हुन्छु भन्दै ठुलो भई भोली
फुरुङ्ग छे भुण्टी उता छेडी नाक कान
छिचोलेर कखहरा थाली स्कुल जान
बनि भक्त ह्रदयले मागे बरदान
देलिन देवि उसलाई अथाह बुद्धि ज्ञान
पूजी माता सरस्वती दिन दिन ध्यान
विद्यादात्रि खुशी हुन्छिन लगनले जान
फागुन हेर सखी संगी खेल्छन मिली होली
पिचकारीमा बसन्तको रंग घोली घोली
नाच्दै गाउंदै वर्षाउंदै प्रेम रंग लोला
उमंग भर्यो फागुनले सबै मनको झोला
प्रेमाङ्कुर टुसाउने फागुनले मन
फागुनले हर्ष उल्लास ल्यायो रनबन ।

मलाई वर्षभरीमा सबभन्दा रमाईलो लाग्ने दिन सरस्वती पूजाको दिन हो । गतवर्ष यसै दिनमा मैले यौटा लामो ब्लग लेखेको थिएं पुराना कुराहरुको सम्झनामा । यो वर्ष भने मैले फागुन शिर्षकमा यौटा कविता लेखेको छु । यतिबेला नेपालको गाउँघर सहर बजार सबैतिर अशान्ती र त्रास छ । देशभरीका स्कुल कलेजहरु बन्दप्राय: छन । त्याँहा सरस्वती पूजा मनाउने वातावरण पनि सायदै छैन । मैले भने आजको दिनलाई त्यो त्रासदी भुलेर यो कविता लेखेको हुँ र आसा गर्दछु सरस्वती माताले सबैलाई ज्ञान दिउन , बुद्धी दिउन र मेरो देशको अवस्था कुनै यौटा सुन्दर कविता झैं बनोस ।

Wednesday, February 06, 2008

कविता : नयाँ नेपालको सपना दुख्छु म

उभिएर किनारामा
प्रशान्त महासागरको
सोच्दैछु म यतिबेला
कति दुख्दो हो कठै !
छाती महासागरको
उस्तै उस्तै होला कि
मेरो छाती र
छाती महासागरको
ओर्लिएर सगरमाथाबाट
प्रशान्तको यो किनारामा
छातीभित्रको दुखाई बिसाउन
यहाँसम्म म आएझैं
महासागर पनि पुगेको होला
धर्तीको अनेक कुनामा
छाल बनेर दुखाई बिसाउन
के के मात्र दुख्दो हो कुन्नि
महासागरको छातीमा
अज्ञानी म बुझ्न सक्दिन
या स्वार्थी म बुझ्नै चाहन्न
मात्र आफ्नो छातीमा
सबैथोक दुखेको बुझ्दछु म
कैले सुन्दर विचारहरु माझ
आफ्नै विचार दुख्छु म
कैले अनेक मुहार माझ
आफ्नै अनुहार दुख्छु म
कतै बैसाखको आँधीले
उडाएको छानो दुख्छु म
कतै भदौको अनिकालले
रित्याएको मानो दुख्छु म
म भोक दुख्छु
म रोग दुख्छु
किन होला ?
जति दुख्नु पर्ने
यहि छातीमा
दुख्नुपर्ने ?
कैले आफ्नै थातथलोमा
मिचिएको साँध दुख्छु म
कैले देशै डुबुञ्जेल
बाँधिएको बाँध दुख्छु म
कैले बर्षौं पिछडिएको
समाजको जमाना दुख्छु म
कैले जंगे पिलर ढालिएको
राष्ट्रको सिमाना दुख्छु म
म देश दुख्छु
म परदेश दुख्छु
साँच्चै यो छाती माझ
दुख्नु नदुख्नु दुख्छु म
कतै बुद्धको दिब्य ज्ञान दुख्छु
कतै आफन्तको चिहान दुख्छु
महासागर पनि यति धेरै
खै के दुखेको होला र ?
यहि छाती भित्र
हरेक नेपालीको ओठमा सुनिने
शान्तीको जपना दुख्छु म
हरेक नेपालीको आँखामा बुनिने
नयाँ नेपालको सपना दुख्छु म ।

Tuesday, February 05, 2008

कविता : मेरो मृत्युको खबर

हे शखी !
बिदा दिनु मलाई
नरोई
एकै थोपा आँशु नझारी
म त मर्दैछु आजै राती
यो जीवन
गर्दैछु बिषर्जन
पञ्चतत्वमा
भोली
जव सुन्ने छौ खबर
मेरो मृत्युको
तिमी नआउनु
अरु भन्दा
धेरै बिव्हल बनेर
तर आउनु
कुदेर
अरु अरु झैं
रमितेको लाममा
मेरो लास हेर्न
थाहा नपाओस जगतले
हाम्रो सम्बन्ध
र नउठाओस औंला
यदाकदा तिमीलाई
छोटो जीवनमा मैले
प्रसस्तै अनुभुती बाँचेको छु
थोरै प्रेम
थोरै खुशी
थोरै रस पिएर
यो जुनीमा
धेरै तिरस्कार
धेरै दुख
धेरै निरसता
पिएको छु
भो अब
पिउनु छैन जीवनमा
प्रेमका बिसंगतीहरु
त्यसैले राख्दैछु म
मेरो प्राण
यहि कवितामा
भोली सुनेर
खबर मेरो मृत्युको
पल्टाउनु एकान्तमा
मेरो डायरीको पन्नाहरु
तर नझार्नु है
एकैथोपा आँशु
नमेट्नु
मेरो कविताका हरफहरु
बरु लेखिदिनु
अर्को यौटा सुन्दर कविता
मेरो डायरीको खाली पन्नामा ।