Monday, August 27, 2007

गीत : आफ्नो आफ्नो बुझाई

आफ्नो आफ्नो बुझाई हो आफ्नो आफ्नो हेराई
मान्छे किन आफैंलाई दुखी ठान्छन धेरै ।

कुमालेको चक्र जस्तै जीन्दगानी हाम्रो
पालै संग भोग्नु पर्छ राम्रो र नराम्रो
कोमल त्यो फूल संगै काँढा पनि हुन सक्छ
नजिकैको मान्छे कैले टाढा पनि हुन सक्छ ।

आफ्नै खुशी हाँस्छ मान्छे आफ्नै दु:ख रुन्छ
अरु हाँस्दा ईर्श्या गर्छ रुँदा कान थुन्छ
आज झरी परेको छ भोली घाम लाग्न सक्छ
आज वैलिएको माया पनि भोली जाग्न सक्छ ।

Tuesday, August 07, 2007

गीत : मिठो बोली

मिठो बोली बोलेर मायाले फँसायो
आउंछु चाँडै भनेर पर्खाई बसायो
त्यै मायाले रुवायो त्यै मायाले हँसायो
उचालेर माथी माथी भुईंमा खसायो ।

आँखाबाट आँशु झार्दै धुरुधुरु रुन्थ्यो
मरिजाने कसम खाँदै आगो पानी छुन्थ्यो
धेरै माया गर्छु भन्थ्यो
तिम्रै लागी मर्छु भन्थ्यो
त्यै मायाले रुवायो त्यै मायाले हँसायो
उचालेर माथी माथी भुईंमा खसायो ।

यो आँखामा आँशु आए पुछिदिन्छु भन्थ्यो
दुनियांमा भएजति खुशी दिन्छु भन्थ्यो
पर्खि बस्नु आउंछु भन्थ्यो
सिंदुर पोते ल्याउंछु भन्थ्यो
त्यै मायाले रुवायो त्यै मायाले हँसायो
उचालेर माथी माथी भुईंमा खसायो ।

धन्यवाद ! ....... ,
मैले देख्दै नदेखेकि भेट्दै नभेटेकि ई-साथी , जस्ले मेरो ब्लग हेरेर म संग मित्रता गरि आफ्नो पिंडा सेयर गर्दै त्यसमाथी यौटा गीत लेखिदिन अनुरोध गरिन र मैले उनको लागी यो गीत लेखेको हुँ ।

Thursday, August 02, 2007

गीत : एक्लै म भिजीरहें

रिमझिम झरी परिनै रहयो एक्लै म भिजीरहें
आफैं काँढा भै आफ्नै जीवनमा संधै म बिझीरहें ।

अधरमा रहर रोपेर पनि ओठमा हाँसो फूल्न सकिंन
सयौं खुशीलाई ओझेल पार्ने यौटै पिंडा भुल्न सकिंन
रिमझिम झरी........।

पैंचो लिएर केहि आशाहरु जिउने बहाना खोजीरहें
निमोठेर आफ्नै विश्वास संधै आँशु मात्रै रोजिरहें
रिमझिम झरी.........।